समाज


शिक्षक आन्दोलनमा सर्वोच्चको आदेश: विद्यार्थीको भविष्यमा खेलबाड नगर, ३ दिनभित्र समाधान निकाल

शिक्षक आन्दोलनमा सर्वोच्चको आदेश: विद्यार्थीको भविष्यमा खेलबाड नगर, ३ दिनभित्र समाधान निकाल

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार २०:५, काठमाडौँ

सर्वोच्च अदालतले माध्यमिक शिक्षा (एसईई)को बोर्डको परीक्षाफल समयमै प्रकाशन हुने व्यवस्था मिलाउन र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश गरेको छ।

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको परीक्षाफल समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा मिति नसार्न आदेश दिएको हो।  

सर्वोच्चले आजका बालबालिका भोलिका कर्णधार भन्दै वर्तमानमा गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्रै देश र समाजलाई डोर्‍याउन सक्ने जनशक्ति उत्पादन हुने बताएको छ। 

सर्वोच्चले शिक्षकहरू पठनपाठन छोडेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था राम्रो मान्न नसकिने पनि भनेको छ।  

'नियमित पठनपाठनमार्फत समाजलाई आदर्श र नैतिकताको मार्गदर्शन गर्नुपर्ने गहनतम जिम्मेवारी भएका विद्यालय शिक्षकहरु लामो समयसम्म विद्यालय छाडी आन्दोलन गर्ने वा त्यसरी आन्दोलन गर्नुपर्न अवस्था उत्पन्न गर्नु गराउनुलाई कदापि वाञ्छित परिस्थिति मान्न सकिंदैन' सर्वोच्चले भनेको छ,'आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।'

सर्वोच्चले देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू नगराउनू पनि भनेको छ। सर्वोच्चले भनेको छ, 'तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू। शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखि‍ँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने।'

सर्वोच्चले ३ दिनभित्र निर्देश कार्यान्वयन गरेर त्यसको प्रगति आदेश प्राप्त भएको मितिले चौथो दिनमा प्रतिवेदन पेस गर्न शिक्षा मन्त्रालयलाई आदेश गरेको छ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad