समाज


सुनील शर्मालाई मंगल रावलको प्रश्न- नेपालीलाई जालसाजीमा पारेर विदेशमा व्यापार गर्ने दलाल तपाईं कि म?

सुनील शर्मालाई मंगल रावलको प्रश्न- नेपालीलाई जालसाजीमा पारेर विदेशमा व्यापार गर्ने दलाल तपाईं कि म?

नेपालखबर
बैशाख १०, २०८२ बुधबार २१:१६, काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा मंगल रावलले निजी मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई अन्तर्राष्ट्रिय दलाल भनेकामा आपत्ति प्रकट गरेका छन्।

बुधबार निजी मेडिकल कलेज सञ्चालकहरूका तर्फबाट काठमाडौँको एक रेस्टुराँमा गरिएको पत्रकार सम्मेलनमा शर्माले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन्।

उनले ‘ भारतीय विद्यार्थीसमेत ल्याएर कर्णालीमा चिकित्सक उत्पादन गर्ने म दलाल कि नेपाली विद्यार्थीलाई जालसाजी गरी अरू मुलुक लगेर व्यापार गर्ने तपाईँ दलाल’ भनी शर्मामाथि नै प्रश्न तेर्स्याएका छन्।

डा रावल हालै सरकारले एमबीबीएसको शुल्क तथा सिट संख्या पुनरवलोकनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलका सदस्य हुन्। 

डा रावलले कार्यदलको बैठकमा चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाका आठौँ तहका अधिकृतसरह निर्वाह भत्ता दिनुपर्ने अडान राखेका थिए। उनको त्यस अडानपछि मेडिकल कलेज व्यवसायी शर्मा रुष्ट बनेका हुन्।

शर्माको अभिव्यक्तिपछि डा रावलले लेखेका छन्-
आज एक जना धनमत्त भएको मेडिकल व्यवसायीले मेरो नाम किटान गरेर निर्लज्ज आरोप र लान्छना (गैरजिम्मेवार- यो देशका कलंकित, विश्व बजारले चलाएको अन्तर्राष्ट्रिय दलाल ) लगाई मिडियामा बोलेको सुनेँ। देशको कानुन निर्माण गर्ने तहमा पुगेको व्यक्तिबाट यस्तो नीच र अराजक अभिव्यक्ति आउँदा अचम्मित छु र उक्त अभिव्यक्तिको खण्डन गर्दै ममाथि लगाएको आरोपहरू पुष्टि गर्न चुनौती दिन चाहन्छु र सिंगो समाजका सामु यी प्रश्न गर्न चाहन्छु- 
१. नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्षतामा बसेको पूर्ण बैठकबाट भएको निर्णय लागू गर्दैन भन्ने तपाईं गैरजिम्मेवार कि सो कुरा नि:शर्त लागू हुनुपर्छ भन्ने म गैरजिम्मेवार?

२. देश तथा विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट अध्ययन सम्पन्न गरी देशको सबैभन्दा दुर्गम क्षेत्रमा दशकौँदेखि अनवरत रुपमा कार्यरत म कलंकित कि नक्कली चिकित्सकको आरोपमा मुद्दा खेपिरहेको तपाईं कलंकित?

३. भारतीय विद्यार्थीहरू समेत लिएर कर्णालीमा चिकित्सक उत्पादन गर्न तल्लीन म अन्तर्राष्ट्रिय दलाल कि नेपाली विद्यार्थीहरूलाई जालसाजीमा पारेर चीन लगायतका मुलुकमा पठाई व्यापार गर्ने तपाईं अन्तर्राष्ट्रिय दलाल?

४. मेरो व्यक्तिगत जीवनका हरेक निर्णय लिने अधिकार मसंग हुनुपर्ने कि तपाईंसँग? तपाईं को हो, जसले मेरो व्यक्तिगत आस्था र आचरणमाथि प्रश्न गर्न अधिकार राख्छ? चुनावमा लड्ने नलड्ने भन्ने कुरा मैले तपाईंलाई सोध्नुपर्ने हो? आम चिकित्सकको धारणा के तपाईंको धारणा हो? मैले तपाईंसँग कहिल्यै भेटेको छु? तपाईंजस्तो हरेक वर्ष विद्यार्थीलाई रुवाएर गोजी भर्ने काम मबाट कहिल्यै भएको छ?

तपाईं को हो भन्ने कुरा दुनियाँलाई थाहा छ र म को हो भन्ने कुरा पनि दुनियाँलाई थाहा छ। 

हुन त मलाई यो लेख्न पनि मन थिएन तर सिधै ममाथि लाञ्छना लगाउने कार्य भइसकेपछि लेख्न बाध्य भएँ। र, म सिंगो चिकित्सा समाजलाई भन्न चाहन्छु कि यस्ता अभिव्यक्तिहरूबाट किञ्चित पनि विचलित नभई अझ सशक्त रूपमा सदैव पेसागत हक, हित र उन्नयनमा लागि रहने वाचा गर्दछु। म स्पष्ट छु कि आयोगको निर्णय हुबहु लागू हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad