समाज


विद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई चैते धान रोप्न समस्या

विद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई चैते धान रोप्न समस्या

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १२:३७, काठमाडौँ

खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ।

प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत्गृह) बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ। चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो। 

राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवद्र्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ। जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो। 

साप्सुखोलामा जलविद्युत् प्रवद्र्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ।  जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरेका छन्।

‘साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ। यतिमात्रै होइन। यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन’, उनले भने, ‘खोलै सुक्ने गरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौँ। यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो।’
    
प्रवद्र्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा आफूहरूले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको स्थानीयवासीले बताएका छन्। खोला सुक्ने गरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिएका छन्। 

साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ। बाँधदेखि ड्यामसम्मको करिब चार हजार २०० मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या स्थानीयले बताएका छन्। 

खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले हिउँदको समयमा खोलामा पानीको बहाव घटेकाले कम भएको बताए। ‘खोला नै सुकाउने गरी ड्याममा पानी लगेका छैनौँ। तर, सुक्खा यामका कारण खोलामा पानी कम भएको छ’, उनले भने, ‘खोलामा भएको पानीको मात्राअनुसार कम्तिमा दश प्रतिशत हुने गरी पानी छाडेका छौँ। यसलाई सम्झौता उल्लङ्घन गरेको भन्न मिल्दैन।’

दश स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पादित साप्सुखोला जलविद्युत् आयोजनासँगै तीनवटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। 

साप्सुखोला जलविद्युत् आयोजनासँगै केपिलासगढी गाउँपालिकाक–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको रावाखोला जलविद्युत् आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट उत्पादित एक मेगावाट क्षमताको साप्सुखोला जलविद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो। 

रावाखोला जलविद्युत् आयोजनाले मापदण्डअनुसार खोलामा पानी नछाडेको स्थानीयले गुनासो गुनासो गरेका छन्। स्थानीयबाट गुनासो आएपछि रावाखोला जलविद्युत् आयोजना सञ्चालकलाई सम्पर्क गरेर मापदण्डअनुसार कम्तीमा दश प्रतिशत पानी छाड्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad