बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सञ्चारकर्मीलाई ‘दलाल’ भनेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
समाचारको विषयमा फोनमा कुरा गर्दा प्रजिअ जोशीले मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्मीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको महआसंघको आरोप छ।
वैशाख ५ गते शुक्रबार नागरिकता नपाएका एक जना व्यक्तिका बारेमा बुझ्न खोज्दा जोशीले आपत्तिजनक शब्द प्रयोग गरेको महासंघ बाँके शाखाले जनाएको छ।
प्रजिअ जोशीले ‘नागरिकताका लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भनेको महासंघको आरोप छ।
बांकेका प्रहरी प्रमुख उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मीलाई फोन गरेर उक्त विषयमा केरकार गरेको शाखाको भनाइ छ।
‘राज्यका जिम्मेवार अधिकारी र प्रहरीबाट पत्रकारलाई समाचारका लागि सघाउनु र सहज वातावरण निर्माण गर्नुको साटो यस प्रकारले प्रस्तुत हुनुलाई महासंघले अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको छ’ महासचिव रामप्रसाद दाहालले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘यसबाट पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकारको संवैधानिक सुनिश्चितता र सामाजिक सद्भावमा समेत आघात पुग्ने महासंघको ठहर छ।’
महासंघले प्रेसविरोधी यो घटनाको सत्यतथ्य छानबिन गरी यस्ता हर्कतमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेको छ।
Shares

प्रतिक्रिया