बोइङले एउटा चिनियाँ एयरलाइन्सका लागि तयार गरेको विमान अमेरिका फिर्ता भएको छ। चीनबाट सो विमान आइतबार फर्केर बोइङकै निर्माण केन्द्रमा अवतरण भएको छ।
बोइङले सो ७३७ म्याक्स चीनको सियामेन एयरलाइन्सका लागि पठाएको थियो। बोइङका अरु थुप्रै विमान चौउसानमा चिनियाँ एयरलाइन्सलाई डेलिभरीका लागि तयार गरिँदै छन्। सो विमानमा पनि सियामेन एयरलाइन्सको रङरोगन गरिसकिएको थियो।
तर, डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण फर्किएको विमान सियाटलको बोइङ फिल्डमा अवतरण भएको हो। फर्किंदै गर्दा विमानले गुआममा रोकिएर इन्धन भरेको थियो।
ट्रम्पले चीनविरुद्ध भन्सार महसुल १४५ प्रतिशत पुर्याएका छन्। जवाफमा चीनले १२५ प्रतिशत महसुल लगाएको छ।
बोइङको सो विमानको मूल्य साढे ५ करोड डलर पर्न जान्छ। तर, त्यसमा १४५ प्रतिशत कर थपिँदा बोइङका विमान किन्ने कम्पनीहरू थला पर्न सक्छन्।
यद्यपि, सो विमान फर्काउने निर्णय कुन पक्षले गरेको हो भन्ने स्पष्ट भएको छैन।
यसबाट बोइङलाई ठूलो घाटा लाग्ने अनुमान गरिएको छ। किनकि कयौँ चिनियाँ एयरलाइन्सहरूले दर्जनौँ विमान खरिदको अर्डर दिएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया