ad ad

समाज


हङकङमा शनिबार १२३ नेपाली क्वारेन्टिनमुक्त हुँदै

हङकङमा शनिबार १२३ नेपाली क्वारेन्टिनमुक्त हुँदै

मगेन्द्र राई
चैत १८, २०७६ मंगलबार ३:२२,

हङकङमा होम क्वारेन्टिन (घरमै अलग्गै बस्ने) मा रहेका १ सय २३ नेपाली आउने शनिबार मुक्त हुँदै छन्।

यही मार्च २१ तारिख शनिबार नेपाल एयरलाइन्सको आरए-४१० को उडानबाट हङकङ आइपुगेका उनीहरू १० दिनदेखि होम क्वारेन्टिनमा छन्।

हङकङ सरकारको नियमअनुसार ती नेपाली १४ दिनपछि अप्रिल ४ अर्थात् आउने शनिबारका दिन होम क्वारेन्टिनबाट छुटकारा पाउने भएका हुन्।

सुरुमा अर्थात् फेब्रुअरी ८ देखि मुख्य भूमि चीन भ्रमण गरी हङकङ फर्कनेलाई मात्र १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हङकङ सरकारले पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि मार्च १९ देखि जुनसुकै मुलुकबाट हङकङ प्रवेश गर्नेलाई पनि यो अनिवार्य गराएको हो।

सोहीअनुरूप हङकङ प्रवेश गरेका उल्लिखित नेपालीलाई पनि एयरपोर्टबाटै सहमतिमा हस्ताक्षर गराउँदै होम क्वारेन्टिनमा बस्न लगाइएको हो।

क्वारेन्टिन बस्दाका सकस
क्वारेन्टिइनमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म छन्। स्वतन्त्र दिनचर्या बिताइरहेका बेला अचानक घरमै थुनिएर बस्नुपर्दा निसास्सिएको अनुभव धेरैलाई भएको छ।

घरभित्रै कोचिएर बस्दाबस्दा कतिपय नेपाली के गर्ने, कसो गर्ने भनेर अत्तालिएका पनि छन्। तर अब केही दिन मात्र बाँकी भएकाले उनीहरू दिन गनेर खुसी हुन थालेका छन्।

क्वारेन्टिनमा साहित्य सिर्जनादेखि अनलाइन व्यवसायसम्म
क्वारेन्टिनमा बस्नेहरूमध्ये कतिपय यस अवधिमा अध्ययनशील बनेका छन् भने कतिले साहित्य सिर्जना गरिरहेका छन्।

यस्तै कतिपय बाजा बजाउन सिक्ने, अनलाइन अध्ययन गर्नेसमेत गरिरहेका छन्।

नेपाली महासंघका अध्यक्ष एवं व्यवसायी टंक रानाका २४ र १० वर्षीया छोरीहरू यस्तै सिर्जनशील कार्यमा संलग्न भइरहेका छन्।

लकडाउन भएर नेपालमै अल्झिएका रानाले फोनमार्फत नेपालखबरसँग भने, ‘सानी छोरी ३-४ घण्टा अनलाइन ट्युसन पढ्छिन्, उनी बाजा बजाउनसमेत पोख्त छिन्, अहिले उनी पढाइ र बाजा बजाएर क्वारेन्टिन समय बिताइरहेकी छन्।’

यस्तै ठूली छोरीले कम्प्युटरमार्फत व्यावसायिक काम गरिरहेको उनले सुनाए।

सरकारद्वारा नियमित हेरचाह
ह्ङकङ सरकारले क्वारिन्टानमा बस्नेहरूको नियमित रेखदेख गरिरहेको छ।

क्वारिन्टाइनको तेस्रो दिन र्याल परीक्षण गरेको छ भने पाँचौं दिन दिन त्यसको नतिजा दिएको छ।

साथै अधिकारीले बेला बेला फोनबाट कुराकानी गरेर सल्लाह/सुझाव दिनलगायत सेवा दिइरहेका छन्।

नेपाली अनुशासित
कतिपय चिनियाँले यहाँ क्वारेन्टिन नियम उल्लंघन गरिरहेका छन्। उनीहरू घरबाट बाहिर निस्केर सार्वजनिक स्थानमा जाने गरेका समाचार, फोटो, भिडियो सार्वजनिक भइरहेका छन्।

तर नेपाली भने अनुशासित भएर क्वारेन्टिनमा बसिरहेको पाइन्छ।

बाहिरी देशबाट हङकङ प्रवेश गर्नेलाई एयरपोर्टमै उनीहरूको नाडीमा ‘इलेक्ट्रोनिक ट्र्याकिङ रिस्टब्यान्ड्स’ बाँधिन्छन्।

जसबाट ब्लुतुथमार्फत मोबाइल फोनसमेतमा जोडेर उनीहरूले अधिकारीसमक्ष आफ्ना समस्या राख्न सक्छन् भने व्यक्ति घरमै भएको वा बाहिर निस्किएको भनेर पनि त्यसले जानकारी गराउँछ।

क्वारेन्टिन नियम तोड्नेलाई २५ हजार हङकङ डलर तथा ६ महिना जेल सजाय हुने कानुनी व्यवस्था छ। यसैको डरका कारण पनि नेपाली क्वारेन्टिन नियम तोड्दैनन्।

यसैबीच नेपाल वायु सेवा निगमले हङकङ-काठमाडौ उडान अप्रिल १५ सम्म स्थगन गरेको कन्ट्री म्यानेजर नवराज उपाध्यायले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .