मानव अधिकार आयोगले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
'शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर,' उनले भनेका छन्, 'शिक्षा ऐनलाई समयानुकूल बनाउन, शिक्षा नीतिलाई उत्पादनशील बनाउन तथा यस सम्बन्धमा विगतमा नेपाल सरकारसँग गरिएको सम्झौता कार्यान्वयनको माग राखी नेपाल शिक्षक महासंघद्वारा विगत १३ दिनदेखि काठमाडौँमा जारी आन्दोलन तथा यसवाट वालवालिकाको शिक्षाको अधिकारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।'
आयोगले शिक्षकहरूको आन्दोलनको स्थलगत अनुगमन पनि गरिरहेको जनाएको छ।
आयोगले थप भनेको छ, 'विद्यालयका शिक्षक-शिक्षिकाले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ। तर आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो।'
विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चिततामा बाधा पुग्ने आयोगको ठहर छ।

Shares

प्रतिक्रिया