समाज


वार्षिक राशिफल २०८२ : कन्याको वाक्‌सिद्धि हुने, मकरको वर्ष सुखदायी रहने, तपाईँको के?

वार्षिक राशिफल २०८२ : कन्याको वाक्‌सिद्धि हुने, मकरको वर्ष सुखदायी रहने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १, २०८२ सोमबार ४:३३, काठमाडौँ

आज सोमबार, २०८२ सालको पहिलो दिन (१४ अप्रिल २०२५)। हेर्नुस् यो वर्षको राशिफल-

मेष : वर्षभरि नै बृहस्पति र केतुको प्रभावले मनमा खुसियाली छाउनेछ। अधुरा कार्यले पूर्णता पाउनेछन्‌। नजिकैका व्यक्तिको साथ र सहयोगले विजय प्राप्त हुनेछ। घरपरिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। राहुको सकारात्मकताले नयाँ कार्यको थालनी हुनेछ। शनिको आद्य साढेसातीको प्रतिकूलताले भने चिन्ता, झमेला, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउन सक्छ। बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ। पढाइलेखाइमा पनि बाधा र उल्झन आउला।

वृष : यो वर्ष बृहस्पति, शनि र राहुको अनुकूलताले शुभ फल दिनेछ। नयाँ कार्यको योजना बन्नेछ। नयाँ ठाउँमा भ्रमणको योग छ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। वर्षको सुरुआतमा शिक्षा क्षेत्र राम्रो रहला। न्यायिक कार्यमा सफलता मिल्नेछ। भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। वर्षको अन्त्यतिर भने कामहरू अधुरै रहन सक्छन्‌। पद र प्रतिष्ठा प्राप्तिका लागि रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ।

मिथुन : मिथुन राशिका जातकलाई यो वर्ष सामान्य रहनेछ। शनि, राहु र बृहस्पतिको नकारात्मकताले पूरै वर्ष संघर्षमय रहनेछ। सन्तान टाढिनाले मन दु:खी रहन सक्छ। प्रशासनिक भय रहनेछ। मालसामान हराउन सक्छ। विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा-नचाहँदै चिसोपना आउन सक्छ। भदौबाट भने धार्मिक यात्रा र मङ्गल कार्यको योग छ। वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ। शिक्षक तथा सुरक्षा निकायका कर्मचारीको सरुवा तथा बढुवा हुन सक्छ। स्वास्थ्य सामान्य नै रहनेछ।

कर्कट : यो वर्ष दु:खकष्ट आइलाग्ने छन्। मानसिक चिन्ता बढ्नेछ। इज्जत र प्रतिष्ठामा ह्रास आउन सक्छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा विश्वासको कमी देखिन सक्छ, मतभेद बढ्ने छन्। शत्रु बढ्लान्। अनावश्यक झमेलामा पर्न सकिनेछ। तर, राम्रो कर्म गरे वर्षको मध्यदेखि अवश्य शुभ फल मिल्नेछ। साउन १५ पछि लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई सफलता मिल्नेछ। वर, पिपल वा अन्य वनस्पतिको रोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ।

सिंह : वर्ष फलदायी रहनेछ। बृहस्पतिको प्रभावले वर्षभरि नै राम्रो फल दिनेछ। भाग्यमा वृद्धि हुनेछ। नयाँ जागिरको अवसर मिल्नेछ। वैदेशिक रोजगारीको सम्भावना पनि रहेको छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई भने शनि अढैयाको प्रभावले दबाब र तनाव बढेको महसुस हुनेछ। आरोपप्रत्यारोप, धनहानि, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला। प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ।

कन्या : यो वर्ष राम्रै फल मिल्नेछ। बृहस्पति र राहुको कारण कन्या राशिका जातकहरूलाई यश, कृति, लाभ, विजय र वाक्‌सिद्धि हुनेछ। आफन्तको सहयोग मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। विद्या र बुद्धिको विकास हुनेछ। चमत्कारी ढङ्गले सफलता दिलाउनेछ। सेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ। शनि र केतुको कारणले गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि छ। तर, जन्मकुण्डलीमा ग्रह राम्रो अवस्थामा भए यसको असरलाई काटेर शुभ फल मिल्नेछ।

तुला : लामो समयदेखि रोकिएका कामको पुन: योजना बन्नेछ। सुखसुविधामा बढोत्तरी हुनेछ भने राहु र केतुको प्रभावले अकस्मात् हानि नोक्सानी पनि हुन सक्छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्ग झांगिएर जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ। अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन्। वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा आबद्धहरूलाई पनि अधिक सफलता मिल्नेछ। यो वर्ष स्वास्थ्यमा भने समस्या बढ्न सक्छ।

वृश्चिक : मिश्रित फलदायी वर्ष रहनेछ। धेरैजसो ग्रह प्रतिकूल रहनाले गरेको कार्यमा ढिलाइ हुनेछ। मनमा चञ्चलता बढ्नाले पढाइमा ध्यान दिन नसकिएला। गरेको कार्यमा उल्झन रहनेछ। तर, भौतिक सुख भने मिल्नेछ। दाम्पत्य जीवन तथा प्रेमीप्रेमिकाको सम्बन्धमा उतारचढाव आउन सक्छ। घरपरिवारको स्वास्थ्यमा धन खर्च हुनेछ। सामूहिक व्यवसायमा पनि खासै राम्रो हुनेछैन। वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुनेछ।

धनु : वर्ष सामान्य नै रहनेछ। बृहस्पतिको सकारात्मक प्रभावले राम्रो फल दिनेछ। अध्ययन र अध्यापनमा रूचि बढ्नेछ। सफलता पनि मिल्नेछ। अढैया शनिको कारण भने झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ। अन्य ग्रहहरूले भने आफ्नो कर्मअनुसार फल दिनेछन्। प्रेम र मित्रताको बन्धनमा दूरी बढ्न सक्छ। वादविवादमा नपरेकै जति हुन्छ। अन्यथा, दु:ख पाइने र अपजस खेप्नु पर्ला।

मकर : मकर राशि हुनेहरूका लागि यो वर्ष सुखदायी नै रहनेछ। शनिको अनुकूलताले वर्षभरि नै राम्रो फल मिल्नेछ। अधुरा कार्य सम्पन्न हुँदै जानेछन्। बृहस्पति र राहुको प्रभावले कार्यबाधा र बोलीको विपरीत अर्थ लाग्ने सम्भावना पनि छ। अत: वाणीमा लगाम लगाएकै जाति हुन्छ। नयाँ ठाउँमा लगानीको अवसर छ। नयाँ कार्य, पद र प्रतिष्ठा समेत पाइनेछ। सेयर बजारको कारोबार भने सुझबुझमा भर पर्छ। यो वर्ष रक्तचाप र नसाको समस्या बढ्न सक्छ। अत: स्वास्थ्यप्रति सजग रहनु नै बेस हुन्छ।

कुम्भ : वर्ष मध्यम नै रहनेछ। बृहस्पतिले शुभ फल दिनेछ। नयाँ ठाउँमा प्रवेश हुन सक्छ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ। तर, शनि र राहुले सकारात्मक फल नदिन सक्छन्। शनिको अन्त्य साढेसातीले गर्दा मनमा डर, काममा ढिलाइ र आर्थिक उतारचढाव हुन सक्छ। नजिकका व्यक्तिसँग वादविवाद र दूरी बढ्न सक्छ।  राजनीतिक क्षेत्रमा विविध समस्या र संघर्ष खेप्नु पर्ला। घरजग्गा र सेयर बजारबाट सामान्य सफलता मिल्नेछ।

मीन : भौतिक सुखमा बढोत्तरी हुने वर्ष परेको छ। बृहस्पतिले कीर्ति बढाउने र सुखको अनुभूति दिलाउनेछ। राजकीय पद प्रतिष्ठा प्राप्तिको योग पनि छ। सरकारी जागिरेलाई पनि सरुवा र बढुवाको योग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। प्रेम सम्बन्ध विवाहमा परिणत समेत हुन सक्छ। शनिको मध्य साढेसातीले भने चिन्ता, हानि, बाधा, ढिलासुस्ती गराउनेछ। वैदेशिक व्यवसायमा उल्झन र नोक्सानी हुन सक्छ। सेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad