समाज


तीनकुनेमा आगजनी गर्ने दुर्गा प्रसाईंनिकट ‘एटीएफ’का प्रवक्तासमेत भएको पुष्टि

तीनकुनेमा आगजनी गर्ने दुर्गा प्रसाईंनिकट ‘एटीएफ’का प्रवक्तासमेत भएको पुष्टि

नेपालखबर
चैत ३१, २०८१ आइतबार १९:९, काठमाडौँ

चैत १५ गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाईं निकट समूह (एटीएफ) ले गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापाति गाउँपालिका १ का २२ वर्षका सरोज गौतम र एटीएफका सदस्य अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही रहेका छन्। 

उनीहरूले नै उक्त घरमा आगो लगाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले नेपालखबरलाई बताए। 

एसपी बोहराका अनुसार गौतम दुर्गा प्रसाईंले प्रहरीलाई पेल्नेगरी अगाडि बढाएको गाडीमा पनि झुण्डिएका थिए। त्यहाँबाट फर्किएर घरमा आगो लगाएका उनी ढुंगामुडा र आगजनीमा संलग्न रहेको भिडिओ प्रहरीले फेला पारेको हो। 

यस्तै शाही घरमा आगजनी गरिसकेपछि माओवादीको पार्टी कार्यालयमा तोडफोडका लागि पनि पुगेको खुलेको छ। उनले विभिन्न ठाउँमा आगजनी र तोडफोडमा पनि संलग्न रहेको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चैत १९ गते नै पक्राउ गरेको हो। पक्राउपछि अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो। 

त्यहाँ अनुसन्धान गर्दा अगो लगाउने गौतम र शाही भएको खुलेको हो। पक्राउ परेकै व्यक्तिहरूको मोवाइलमा आगो लगाउँदै गरेको भिडिओ फेला परेको हो। 

आगो लगाउँदै गरेको भिडिओमा गौतम भन्छन्, ‘बल्यो बल्यो, हाम्रो आन्दोलन रोकिनेवाला छैन। दम भए छेकेर देखाउ।’

कागजमा आगो बालिरहेका उनीहरू त्यसपछि आगो झोसेर बाहिर निस्कन्छन्। आगो लगाउँदै गरेका उनीहरू दुई जना देखिए पनि त्यहाँ प्रदर्शनकारीको भीड देखिन्छ।

त्यो भन्दा माथिल्लो तलामा सोही आगोले जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो। दुर्गा प्रसाईंको सचिवालयले भने उक्त समूह आफ्नो नभएको र सन्तोष राजावादीकै भएको दाबि गरेको छ। उनीहरु त्यसदिन राजावादी आन्दोलन भएकाले सहभागी भएका थिए। सन्तोष राजावादी पछिल्लो समय राजावादी समूह र हिन्दूवादी समूहका जुनसुकै आन्दोलनमा पनि पुग्ने गरेका थिए। 

एटिएफ सन्तोष राजावादीले नै केही वर्ष पहिले नै बनाएका थिए। उनले आन्दोलनको दिन घुसपैठ गरेर अरुले नै आगोजनी गरेको आरोप लगाएका थिए। तर उनकै समूहले आगो लगाएको खुलेको हो। 

दुर्गा प्रसाईंले भने पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) गठन गरेका थिए। यस्तै राजावादीले नै रोयल टाक्स फोर्स पनि गठन गरेका थिए।

तीनकुनेको घटनामा यी तीनवटा फोर्स परिचालित भएका थिए। प्रहरीले तीनवटै समूहमा आवद्धलाई पक्राउ गरेको छ। 

प्रहरीले उनीहरूलाई आपराधि अपद्रव र संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि पक्राउ परिसकेका छन्। 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवलशमशेर राणासहित ८२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad