समाज


ज्यान मार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान

ज्यान मार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १३:१३, काठमाडौँ

भारतको आसामबाट पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याइपुर्‍याइएको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए।  

बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल पुर्‍याइयो। त्यहीँबाट विमानमार्फत काठमाडौँ ल्याइएको हो। 

चैत १५ को प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही अझै घाइते अस्पतालमै छन्। प्रदर्शनकारीले  तीनकुने क्षेत्रका केही निजी र सरकारी संरचनामा आगजानी र तोडफोड पनि गरेका थिए। 

प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेर प्रसाईं भने फरार भएका थिए। अहिले उनीमाथि चार कसुरमा अनुसन्धानको तयारी अघि बढाइएको छ।  

ज्यानमार्ने उद्योग 
प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए। त्यहाँ प्रहरीमाथि नै गाडी कुदाउन खोजेर ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाउन लागिएको हो।  

संगठित अपराध
प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुँदैछ। उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक र परिचालक उनी भएको आरोप छ। प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए। 

आपराधिक उपद्रव र राज्यविरुद्धको कसुर
उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने बताइएको छ। यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणासहितलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad