ललितपुरमा क्रियाशिल पत्रकारका लागि ‘सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आयोजना गरिएको छ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा ललितपुर महानगरपालिका वडा नम्बर- २१ को सहकार्यमा कार्यक्रम भएको हो।
कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले नेपालबाट खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने प्रवृत्ति गलत भएको बताइन्।
हरेक जनपक्षीय आन्दोलनमा पत्रकार महासंघ र मिडियाले सकारात्मक भूमिका खेलेको भन्दै उनले नेपालमा विदेश जाने सोचसहित अध्यापन गराउने गलत परिपार्टीको विकास भइरहेको आरोप लगाइन्। ‘युवा शक्तिलाई विदेश पठाएर नेपालमा केही पनि भएन भन्ने प्रवृत्ति नै गलत छ,’ उनले भनिन्।
कार्यक्रममा ललितपुर- २१ का वडाध्यक्ष रविन्द्र महर्जनले समाजमा सकारात्मक कुरालाई प्रोत्साहन गर्नुपर्ने बताए। ‘अहिले भइरहेका सकारात्मक परिवर्तनका विषयलाई जनतासामु लैजान मिडियाले भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने।
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले किताब अध्ययनबाट प्राप्त गरेको ज्ञान भन्दा जीवनको भोगाइ र अनुभवबाट सिकेको ज्ञान दिगो हुने बताए। महासंघका ललितपुरका सचिव दिपक अर्यालले पत्रकारले जीवनमा सधैँ सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रशिक्षण मन्तव्य दिँदै कपिल शर्माले मन र मस्तिस्कलाई सकरात्मक ढंगले चलाउने हो भने मानिसमा नकरात्मक भावना पैदा नहुने बताए। कार्यक्रममा पत्रकार महासंघ ललितपुरका सहसचिव सौगात मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया