समाज


खैलाबैला ल्याएको भैरव रिसालको शरीर दान, अस्पतालमा यसरी गर्नेछन् विद्यार्थीले शवको प्रयोग

‘शवमै गरिन्छ नयाँ शल्यक्रिया अभ्यास, शव नछोई कोही डाक्टर बन्न सक्दैनन्’
खैलाबैला ल्याएको भैरव रिसालको शरीर दान, अस्पतालमा यसरी गर्नेछन् विद्यार्थीले शवको प्रयोग

प्रज्ञा तिम्सिना
चैत २५, २०८१ सोमबार २१:१२, काठमाडौँ

वरिष्ठ पत्रकार भैरव रिसालले २०६८ सालमा मरणोपरान्त शरीर दान गर्ने पत्र पठाउँदा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खैलाबैला मच्चिएको थियो। परिवारको स्वीकृतिसहित पत्रकार रिसाल र उनकी पत्नी सुशीलाले मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेका थिए।

२०६८ सालमा आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरूको अभ्यासको लागि काम लागोस् भन्दै रिसालले पठाएको पत्र अस्पतालमा आउँदा स्वीकार गर्ने कि नगर्ने भनेर दोधारमा परेको अस्पतालका निर्देशक डा रवि शाक्य बताउँछन्। 

‘अस्पतालमा पहिलोपटक मृत्युपश्चात शरीर दान गर्छु भन्दै परिवारको सहमतिसहितको पत्र आएको थियो। शरीर दान गर्ने कानुनी प्रावधान थिएन। स्वीकार गर्ने नि नगर्ने भन्ने दोधारमा थियौँ,’ शाक्यले भने, ‘छलफल गरेर पछि मात्र सहमति दिएका थियौँ। पत्रकार रिसाल र उहाँको पत्नीलाई मरणोपरान्त शरीर दान गर्ने परिचय पत्र दिएका थियौँ।’

रिसालको ९७ वर्षको उमेरमा चैत २४ गते निधन भयो। मृत्युपछि परिवारले अस्पतालमा फोन गरेर जानकारी गरायो। त्यसपछि रिसालको पार्थिव शरीर अस्पताल लगियो। 

‘अहिले उहाँहरूको परिवारले हेर्न सक्ने गरी राखेका छौँ। भोलिसम्म समय माग्नुभएको छ। चैत २७ देखि भने मेडिकल प्रयोगका लागि राख्छौँ। त्यसपछि कसैले भेट्न मिल्दैन,’ उनले भने, ‘पाटन अस्पतालमा हालसम्म मरणोपरान्त शरीर दान गर्न तीनजनाले स्वीकृति दिएका छन्।’ 

उनले रिसालको शरीर लामो समय लगाएर विद्यार्थीहरूले अध्ययन गर्ने बताए। 

‘दुई-तीन वर्षसम्म शव अस्पतालमा रहन सक्छ। नसामा इन्जेक्सनबाट रसायन हालेपछि लामो समयसम्म नकुहिने गरी शव संरक्षण गर्न सकिन्छ,’ डा शाक्य भन्छन्, ‘अध्ययनपछि आफ्नै हिसाबले दाहसंस्कार गरिनेछ।’

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको शव पनि २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा मृत्यु भएपछि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो। २०७७ माघ ३० गते सत्यमोहन जोशीले आफ्नो शरीर अध्ययनका लागि किस्ट अस्पताललाई दिन सम्झौता गरेका थिए। ललितपुर महानगरपालिकाले गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले आफ्नो इच्छाअनुसार नै शरीर दान गर्ने सहमति दिएको बताएका थिए। 

‘संस्कृतमा एउटा श्लोक छ, जीवेत शरदः शतम्। सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेको छु,’ उनले त्यतिबेला भनेका थिए।

२०७५ साउन २६ गते साहित्यकार तथा चर्चित रेडियो प्रस्तोता दाहाल यज्ञनिधिको शव शिक्षण अस्पतालमा बुझाइयो। उनको इच्छा अनुसार परिवारले शरीर अस्पताललाई दान दिएको थियो। 

२०७० सालमा पूर्वमन्त्री तथा साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, धरानलाई बुझाइयो। अधिकारीले मृत्युअघि अस्पतालसँग शरीर दान गर्ने सम्झौता गरेका थिए। २०७२ सालमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगन्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइयो। उप्रेतीले सुसाइड नोटमै शरीर दानको इच्छा व्यक्त गरेका थिए।

चिकित्सा शिक्षामा कसरी प्रयोग हुन्छ शव? 
पाटन अस्पतालका निर्देशक डा शाक्यका अनुसार एमबीबीएस गर्ने विद्यार्थीका लागि एनाटोमी (शारीरिक संरचना) अध्ययन गर्न शव आवश्यक पर्छ। त्यस्तै, शल्यचिकित्सामा स्नाकोत्तर गर्ने विद्यार्थीलाई पनि शव चाहिन्छ।

‘कुनै नयाँ शल्यक्रिया बिरामीमा गर्नुअघि शवमा अभ्यास गरिन्छ,’ उनले भने। 

फरेन्सिक विशेषज्ञ डा हरिहर वस्ती शव नछोईकन कोही डाक्टर बन्न नसक्ने बताउँछन्।

‘चिकित्सक बन्नका लागि केडाभर डाइसेक्सनको विकल्प छैन। अभ्यास नगरी डाक्टर बन्न सकिँदैन। एमबीबीएसको ‘एनोटोमी’ कोर्समा यसलाई अनिवार्य राखिएको छ। त्यसैले, सामान्य डाक्टर होस् या शल्यक्रिया विशेषज्ञ, पढाइमा केडाभर डाइसेक्सनुको अभ्यास अनिवार्य छ,’ उनले भने, ‘कुन अंगमा कस्तो हुन्छ? हड्डी के हो? छाला के हो? अंगले कसरी काम गर्छ? संरचना कस्तो हुन्छ? थाहा पाउन शव आवश्यक छ। शल्य चिकित्सकले बिरामीको शरीर शल्यक्रिया गर्नअगाडि शवमा अभ्यास गर्नुपर्छ। शवमा गरिने अभ्यासबाटै उनीहरू चिरफार गरेर नै विशेषज्ञता हासिल गर्छन्।’ 

विगतमा शव दान गर्ने कानुन नहुँदा चिकित्सा शिक्षाका विद्यार्थीलाई अभ्यासमा निकै कठिनाइ रहेको डा वस्तीको भनाइ छ। 

‘बेवारिसे लासमा अभ्यास गर्ने गरिन्थो। एउटै शवमा धेरै विद्यार्थीले अभ्यास गर्ने गर्थे। २०७५ सालको कानुनी प्रावधानपछि केही व्यक्ति दान दिन आउन थालेका छन्। एउटा एनाटोमी विभागमा वर्षको ५ देखि ७ वटा शव चाहिन्छ। वर्षमा अभ्यासका लागि १६० वटा भन्दा बढी शव चाहिन्छ। पाइएका बेवारिसे लासहरू मेडिकल साइन्सका विद्यार्थीहरूलाई पर्याप्त हुँदैन,’ उनी भन्छन्।

डा शाक्यका अनुसार अझै पनि मरणोपरान्त शरीर दान गर्छु भन्दै आउने निकै कम छन्।

‘पाटनमा हालसम्म जम्मा तीनजनाले मात्र स्वीकृति दिएका छन्। अस्पतालमा पहिचान नखुलेका बेवारिसे शव हुन्छन्। प्रहरीसँगको स्वीकृतिमा बेवारिसे लास प्रयोग गर्ने गरेका छौँ। विद्यार्थीलाई अभ्यास गर्न शवको अभाव त छैन, तर बेवारिसे शव लामो समयपछि मात्र प्राप्त हुन्छ। आवश्यक परेको समयमा नपाउँदा समस्या हुन्छ,’ उनले भने, ‘सबै अस्पतालमा ‘डिप फ्रिज’ नभएकाले त्यो सम्भव देखिन्न।’

के छ कानुनी व्यवस्था? 
२०७५ भदौ १ गते देखि लागू भएको मुलुकी देवानी संहिता ऐनले शरीर दान गर्न पाउने व्यवस्था गरेको छ। देवानी संहिता ऐनको दफा ३८ को उपदफा १ मा, ‘कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्ने छ’ भनेर उल्लेख गरिएको छ। 

उपदफा २ मा, ‘दफा एक बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्यक्तिको शव, शरीरको अंग वा त्यसको अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नुपर्ने छ’ भनिएको छ।

प्रहरी ऐन, २०१२ मा बेवारिसे लासको हकवाला व्यक्ति फेला नपरे चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक परे प्रहरीले सो संस्थामा बुझाउन सक्ने भनेर उल्लेख गरिएको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ मा चिकित्सा शिक्षाका लागि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। शरीरदान गर्न इच्छुकहरूले परिवारका सम्पूर्ण सदस्यहरूसँग स्वीकृति लिएर अस्पतालसँग सम्पर्क गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad