समाज


सगरमाथा संवादको पूर्वसन्ध्यामा ‘प्रि–सगरमाथा संवाद' सम्पन्न

सगरमाथा संवादको पूर्वसन्ध्यामा ‘प्रि–सगरमाथा संवाद' सम्पन्न

नेपालखबर
चैत २५, २०८१ सोमबार १४:४०, काठमाडौँ

काठमाडौँ इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल सरकारसँगको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानवजातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ। 

वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतित्थ्यमा आईआरजीडीडीले सोमबार प्रि–सगरमाथा संवाद कार्यक्रम गरेको हो। सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ सम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ। 

कार्यक्रममा जलवायु र अन्य क्षेत्रका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए। हिन्दुकुश हिमालयका मानिसहरुको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा. पेमा ग्याम्त्सो, प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा. पपुलर जेन्टल, पूर्वअर्थ सचिव मधु मरासिनी, विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा समेत चडिसकेका हिमाल आरोही दावा टासी शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेमर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष चण्डीराज ढकाल र ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा. विराज सिंह थापाले आ–आफ्नो धारणा राखेका थिए। 

राज्यमन्त्री विकले सगरमाथा संवादको उद्देश्यको बारेमा प्रकाश पार्दै भनिन्,‘सगरमाथा संवाद मात्र नभएर विश्वव्यापी पहल भएका् बताइन् । ‘मन्त्री विकले उक्त संवादले प्रकृतिलाई मात्र नभएर कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसहरुलाई समेत लक्षित गरेको बताइन्, ’ उनले थपिन्ने, ‘नेपाल जलवायु परिवर्तनको कारणले गर्दा अध्याधिक जोखिमपूर्ण मुलुक हो। त्यसलाई लक्षित गरेर रोकथामको लागि सरकारले काम गरिहेको छ।’ 


अध्यक्ष शर्मिला ढकाल पराजुलीले आईआरजीडीडीले परिवर्तनको लागि बलियो कूटनीतिक पहलमा विश्वास राखेको बताइन्। उनले हिमाल र मानवजातिको बीच महत्वपूर्ण सम्बन्धको लागि प्रि–सगरमाथा संवाद आयोजना गर्न पाउदा गर्व लागेको बताइन्। उनले भनिन्, ‘आजको छलफलले हामीलाई ढाक्न नसक्ने सत्यलाई फेरि जोड दिएको छ। जलवायु संकट हिमालयको संकटको र, विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय संकटको बहस हुनैपर्छ।’ उनले यो संवादले भविष्यमा हिमालय शृंखलाको अवस्था हाम्रो बलियो सहकार्यमा भरपर्ने बताइन्। पूर्वराजदूत ढकालले सगरमाथा संवादको प्रि–शृंखलाको रुपमा तीन वटा लगातार छलफल चलाउने जानकारी दिइन्।

 
इसिमोडका महानिर्देशक डा. ग्याम्त्सोले हामी हिमालय क्षेत्रको जनताको भएको कारणले गर्दा अब प्रकृतिलाई फिर्ता दिने समय भएको उल्लेख गरे । उनले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौं भन्ने विषयमा हुनु पर्ने सल्लाह पनि दिए।

प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा. जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको तर्फबाट नेगोसिएसन (संवाद) गर्दा स्थायी टोली नभएको बताए। 

यसैगरी, पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालको लागि सगरमाथा संवाद महत्वपूर्ण अन्तर्राष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै पहिलो वर्ष गर्न लागेको जलवायु परिवर्तनको विषय महत्वपूर्ण भएको बताए । उनले संघमा ६ प्रतिशत बजेट नै जलवायु परिवर्तनको लागि छुट्याइएको जानकारी दिए। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले आईआरजीडीडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने उल्लेख गरे। 

आईआरजीडीडीले प्रि–सगरमाथा संवादका दौरानमा भएको छलफलबाट आएका महत्वपूर्ण सुझावहरुलाई नेपाल सरकारको सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गर्ने संस्थाकी अध्यक्ष पराजुलीले जानकारी दिइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad