शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर ३ मिनेटको फरकमा दुईपटक गएका भूकम्पका कारण ८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट हालसम्म प्राप्त विवरणअनुसार भूकम्पका कारण रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी कूल ८ व्यक्ति घाइते भएको जानकारी दिएको हो।
तीमध्ये जाजरकोटका ३ जना भने उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने जाजरकोटकै बाँकी ३ जना र रुकुम (पश्चिम) का २ जना गरी ५ जना हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचाररत रहेको प्राधिकरणले जनाएको छ। उपचारत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम छ।
यस्तै भूकम्पले जाजरकोट, रुकुम (पश्चिम) र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवन चर्किएको जानकारी पनि प्राधिकरणले दिएको छ।
प्राधिकरणका अनुसार चैत २२ गते शुक्रबार राति ८:०७ बजे र लगत्तै ८ः१० बजे जाजरकोट जिल्लाको कुसे गाउँपालिका-९ पैंक केन्द्रबिन्दु बनाएर क्रमशः ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्प गएका हुन्। ती भूकम्पका धक्का जाजरकोट, रुकुम (पश्चिम), कालीकोटलगायतमा महसुस गरिएको विवरण प्राप्त भएका छन्।
अधिकांश व्यक्ति बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएका बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएको पाइएको प्राधिकरणले जनाएको छ।
नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणबाट निकै संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा पर्ने र यस प्रकारका भूकम्पका कम्पन/परकम्प जुनसुकै बेलामा आउन सक्ने देखिएकाले नआत्तिएर सुरक्षित तरिकाले सावधानीपूर्वक बस्न, भूकम्प गएको बेला वरपरको स्थितिसमेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियम पालना गर्न प्राधिकरणले सबैमा विशेष अनुरोध पनि गरेको छ।
हेर्नुहोस् सूचना-

Shares

प्रतिक्रिया