समाज


तीनकुने घटनामा पक्राउ परेका ७ जनाको नाम सार्वजनिक

तीनकुने घटनामा पक्राउ परेका ७ जनाको नाम सार्वजनिक

नेपालखबर
चैत २१, २०८१ बिहिबार १४:४९, काठमाडौँ

काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका थप ७ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही, देवदह नगरपालिका घर भएका वर्ष ४७ का प्रेम थापा मगर, झापा, गौरादह नगरपालिका-१, गौरादह घर भएका वर्ष २१ का समीर मगर, रामेछाप, सुनापति गाउँपालिका-१ घर भएका वर्ष २२ का सुरेश गौतम, ताप्लेजुङ, फुलुङ नगरपालिका-३ घर भएका वर्ष २३ का सुशील बराल, नुवाकोट, बेलकोटगढी नगरपालिका-७ घर भएका वर्ष २७ का रमेश राई, अछाम, पञ्चदेवल नगरपालिका घर भएका वर्ष २० का गोकर्ण शाही र संखुवासभा, पाँचखपन नगरपालिका २ घर भई हाल कागेश्वरी मनोहरा-९ बस्ने वर्ष ३९ का मुकुन्द दहाल छन्।

उनीहरू राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवलगायतका अपराधमा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

तीनकुने क्षेत्रमा चैत १५ गते शान्तिपूर्ण प्रदर्शनको लागि नवराज सुवेदीको संयोजकत्वको समितिले पूर्वअनुमति लिएको थियो। दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शन गरिएको थियो।

त्यस क्रममा उनीहरूले भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि प्रहरीमाथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीको दाबी छ।

यस्तै आम सर्वसाधारणको सुरक्षार्थ सडकमा ड्युटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीलाई पनि ढुंगा, लाठी, फलामका रड, घरेलु हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीको हातहतियारसमेत खोसेको, सुरक्षाकर्मीलाई नै घाइते बनाएको, सर्वसाधारणका घर, निजी सम्पत्ति, सञ्चार गृहहरू रहेको भवन, विभिन्न राजनीतिक दलका कार्यालय तथा नेताका निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारिक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील अति प्रज्ज्वलनशील इन्धन भण्डारण रहेको स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा समेत तोडफोड तथा आगजनी गरेको प्रहरीको भनाइ छ।

लुटपाट तथा आपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरूमा समेत आगजनी गरी आतङ्कित पारी संगठित तवरले मानिसको ज्यानै लिने समेतका आपराधिक कार्यमा संलग्न भन्दै प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ।

काठमाडौँ जिल्ला अदालतबाट ७  दिन हिरासतमा राख्न अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad