सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताए।
उनले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको जानकारी दिए। कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको बताए। नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा. बुढाथोकीको भनाइ छ।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गरिएको छ। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चलक समितिको बैठकमा माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्युले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको छ।’
उनले थपे, ‘यस कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको छ। नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ।’
उनले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवं पुनःस्थापनका लागि नीति तथा कार्ययोजना तयार गर्न प्राध्यापक डा.जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको बताए।
मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो। जसले शरीरका मांसपेशीहरुलाई क्रमशः कमजोर बनाउँछ। जसले हिँड्न, दौडिन र खेल्न कठिन हुन्छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्त्री जानकारी लिन, स्वास्थ्य सम्बन्धी सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर दिनसक्ने बताए।
Shares

प्रतिक्रिया