समाज


इमाडोलमा मध्यराति एकान्तमा बोलाएर ३० वर्षका युवकको हत्या

बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको पक्राउ परेका युवकको बयान
इमाडोलमा मध्यराति एकान्तमा बोलाएर ३० वर्षका युवकको हत्या

नेपालखबर
चैत १४, २०८१ बिहिबार ९:४९, काठमाडौँ

ललितपुरमा २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका छन्। 

महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलाे हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए। 

‘गएराति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गर्दा खातीको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘घटना लगत्तै पुगेको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको छ।’

हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ।

खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आराेपीले प्रहरीलाई दिएका छन्।

‘मध्यराति फोन गरेर एकान्तमा बोलाएपछि एक्कासी खुकुरी प्रहार भएको देखिन्छ,’ एसपी रेग्मीले भने, ‘चिनेजानेको मान्छेले बोलाएपछि पुगेका खाती खुकुरी प्रहारबाट घटनास्थलमै ढलेको पाइएको छ। रसाइलीले खातीले आफ्नी बहिनीलाई जिस्काएर दु:ख दिएकाे बताएका छन्।’ 

मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीकाे चोट देखिएको प्रहरीले जनाएको छ। 

स्थानीय बासिन्दाले पनि मृतक युवा पक्राउ परेका युवककी बहिनीसँग प्रेम सम्बन्धमा रहेकाे बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad