समाज


आज ५२६ पर्यटकको उद्धार हुँदै

आज ५२६ पर्यटकको उद्धार हुँदै

नेपालखबर
चैत १५, २०७६ शनिबार ४:५३,

कोभिड-१९ को संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा सम्बन्धित मुलुकमा फर्काउने काम भइरहेको छ।

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लैजान शुरु गरेका छन्।

शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्ससहित युरोपका ३०४ नागरिक स्वदेश फर्किएका थिए। शनिबार पनि कतार एयरवेजको दुई उडानबाट विदेशी नागरिक स्वदेश जाँदैछन्।

नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन्। कतिपय पर्यटक भने विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका छन्।

लुक्ला, जोमसोम, पोखरालगायत गन्तव्यबाट पर्यटकलाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याएर सम्बन्धित मुलुकमा पठाउने काम भइरहेको छ।

नेपालका विभिन्न स्थानमा रहेका पर्यटकको खोजी, उद्धार तथा पर्यटकको सङ्ख्या व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड खटिएको छ।

बोर्डले शुक्रबार सूचना जारी गरी कुन मुलुकका नागरिक कुन स्थानमा छन् जो कोहीले विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले नेपालमा रोकिएका पर्यटकको उद्धार गरी उनीहरुको मुलुक फर्काउने कार्य धमाधम भइरहेको जानकारी दिए।

नेपालका विभिन्न गन्तव्यबाट अहिले ५२६ पर्यटकको उद्धार गर्नुपर्नेछ। तीमध्ये २२६ जनाको शुक्रबार उद्धार गरिएको छ। आज माउण्टेन उडानमार्फत १०० जनाको उद्धार गरी काठमाडौँ ल्याइनेछ।

यस्तै पोखरामा रोकिएका ३०० पर्यटकलाई जहाजमार्फत काठमाडौँ ल्याइने तथा जोमसोमबाट ६० जना पर्यटकलाई काठमाडौँ ल्याइनेछ।

नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् उनीहरुको यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad