जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डित हेडक्वार्टर तानिएका छन्। उनीविरुद्ध उजुरी छानबिन शाखामा उजुरी परेको स्रोतले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले भने उनलाई हेडक्वार्टर काज सरुवा गरिएको पुष्टि गर्दै किन तानिएको भन्ने विषयमा खुलाउन चाहेनन्।
‘उहाँलाई काज सरुवा गरिएको हो। यो विषय ठूलो होइन र तपाईंहरूलाई यस्तो विषयमा किन चासो? के ठूलो कुरा भयो र’, आचार्यले भने।
सिरहाको प्रहरी प्रमुखमा पोखरा गणमा कार्यरत एसपी अनन्तराम शर्मालाई खटाइएको छ। यसअघि गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो।
महायज्ञ गर्नका लागि दलित परिवारको घर भत्काएको विषयमा उनीहरूमाथि छानबिन हुन लागेको हो। औरही गाउँपालिका ५ मा महायज्ञका नाममा दीपक मलिकको घर डोजर लगाएर भत्काइएको थियो। उनको घरमा डोजर चलाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन्।
तर सुरुमा कुनै कारबाही नगरेको प्रहरी र प्रशासनले चौतर्फी दबाबपछि मात्रै कारबाही अगाडि बढाएको हो। प्रहरीले यो घटनालाई गुपचुप पार्न खोजेको थियो। यही विषयमा सोध्दा प्रहरी प्रवक्ता दिनेश आचार्यले पनि चासो नदिन भनेका छन्।
मल्लिकको घरनजिकै चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका लागि मण्डप तयार हुँदै थियो। मण्डप नजिकै दलितको घर हुँदा अपवित्र हुने भन्दै प्रहरी प्रशासनकै अगाडि डोजर लगाइएको थियो।
घटनाका विषयमा समाचार सार्वजनिक भएपछि संघीय संसद् र मधेस प्रदेशसभामा समेत सांसदहरूले आपत्ति जनाउँदै कारबाहीको माग गरेका थिए। पीडित परिवारले आफूहरूको घर पहिलेकै स्थानमा निर्माण गरिदिन माग गरेका छन्।
Shares

प्रतिक्रिया