समाज


किन कुटिए विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख?

किन कुटिए विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख?

तोडफोड भएको कार्यालय प्रमुखको कार्यकक्ष। तस्बिर: चितवन पोस्ट


नेपालखबर
चैत १२, २०८१ मंगलबार १४:२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई आज (मंगलबार) बिहान कार्यकक्षमै प्रवेश गरी एक समूहले कुटपिट गरेको छ। 

चितवनस्थित भरतपुर वितरण केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटिएको हो।

‘बेलैमा बिल तिरौँलगायत ग्राहकका लागि चेतनामूलक सूचना राख्ने गरिएको डिजिटल बोर्डमा एक्कासि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको आपत्तिजनक कुरा देखायो, थाहा पाउनासाथ हामीले डिलिट गर्‍यौँ’, प्रशासन प्रमुख विष्टले नेपालखबरलाई सुनाए, ‘यसैका विषयमा कसले ह्याक गर्‍यो र त्यस्तो कुरा राख्यो भन्ने विषयमा हामी छलफल गरिरहेका थियौँ, त्यही बेला एक्कासि ३०/४० जनाको जत्था प्रवेश गरी कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गर्‍यो।’

उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहितको टोली आएपछि मात्र त्यो भिड तितरबितर भएको थियो। 

‘कार्यालय प्रमुख श्रेष्ठको शरीरमा बाहिरी चोटपटक त देखेनौँ, उहाँ अलि गाह्रो भयो भनेर अफिसबाट निस्कनुभयो, त्यसपछि सम्पर्क गर्दा उहाँको मोबाइल स्विचअफ पायौँ’, उनले भने, ‘थप बुझ्न पाएका छैनौँ।’ 

उनका अनुसार अराजक समूहको आक्रमणबाट कार्यालयको कम्प्युटर, गमला, ग्लास, शौचालयका ढोकालगायत सामान तोडफोड भएका छन्। 

घटनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको र जिल्ला प्रहरी कार्यालयसँग सुरक्षा मागिएको जानकारी पनि प्रशासन प्रमुख विष्टले दिए। 

सोमबार साँझ मात्र मन्त्रिपरिषद्ले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad