समाज


एसईई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराउने परीक्षा गार्डलाई निकालियो

एसईई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराउने परीक्षा गार्डलाई निकालियो

नेपालखबर
चैत ११, २०८१ सोमबार १५:२६, इनरुवा(सुनसरी)

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ। यस वर्षको एसईई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’  प्रयोग भएको पुष्टि भएको हो। 

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसईई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन्। 

परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड(शिक्षक)ले मोबाइल अफ गरेका थिए।

उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएपमार्फत च्याट गरिएको भेटिएको थियो। 

ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले बताए।

त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए। भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। 

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रउ तिम्सिनाले बताए। यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ। सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही रु १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरिएको थियो।

परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले बताए। निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो। यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो।

सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो। दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेत समेत गरिएको उनले बताए। परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको उनले बताए।

सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेका कारणले निरीक्षक फ्स्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समनव्य एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad