समाज


ताप्लेजुङमा सिरीजंघा पर्यटन महोत्सव, लोगो र प्रोमो सार्वजानिक

ताप्लेजुङमा सिरीजंघा पर्यटन महोत्सव, लोगो र प्रोमो सार्वजानिक

नेपालखबर
चैत ७, २०८१ बिहिबार १९:२४, काठमाडौँ

ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले नयाँ झोरेनीमा पर्यटन महोत्सव गर्ने भएको छ। कञ्‍चनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी वैशाख १३ देखि १५ गतेसम्म महोत्सव हुँदैछ। 

उक्त महोत्सवको प्रचारका लागि तयार पारिएको लोगो र प्रोमो भिडिओ आज सार्वजनिक गरिएको छ। 

जिल्ला सदरमुकाम फुङलिङस्थित नेपाल पत्रकार महासंघ, ताप्लेजुङको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति सचिवालयका संयोजक डा. चित्र माबो, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा लोगो र प्रोमो सार्वजनिक गरिएको हो। 

प्रोमो भिडिओ मुन्धुम फिल्मस्  युट्युब च्यानलबाट सार्वजानिक भएको छ। गाउँपालिकाका अध्यक्ष चौहानले पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनको असरबारे सचेतना र आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा हुने विश्वास व्यक्त गरे। 

यसैगरी महोत्सव आयोजक समिति सचिवालयका संयोजकसमेत रहेका उपाध्यक्ष माबोले उचित प्रचारप्रसार हुन सकेको खण्डमा सिरीजंघा गाउँपालिकाका प्रत्येक वडाहरु पर्यटकीय दृष्टिकोणले संभावनायुक्त रहेको र यसैको सुरुवातको रुपमा सिरीजंघा पर्यटन महोत्सव आयोजना गर्न लागिएको बताए। 

महोत्वसअन्तर्गत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न वैशाख ५ देखि १३ गतेसम्म कञ्चनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, वैशाख १४ र १५ गते स्थानीय याक, चौरी प्रवर्द्धन तथा प्रर्दशन कार्यक्रम, वैशाख १५ गते कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ।

हाफ म्याराथन प्रतियोगिताको बिजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पालिकाले घोषणा गरेको छ। 

यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कञ्चनजंघाको उचाइ ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरी पुरस्कार निर्धारण गरिएको पालिकाका उपाध्यक्ष माबोले बताए।  

समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कञ्चनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुँदै मछेवासम्मको दुरी कायम गरिएको छ। 

संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कञ्चनजंघा साहसिक पदमार्गबाट मकालुदेखि कञ्चनजंघासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad