समाज


लन्डनमा कोरोना संक्रमण भएर निको भएकी नेपाली महिलाको सुझाव यस्तो छ

लन्डनमा कोरोना संक्रमण भएर निको भएकी नेपाली महिलाको सुझाव यस्तो छ

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ३:२१,

बेलायतमा केही दिनअघि कोरोनाभाइरस सङक्रमित भएर अस्पताल भर्ना भएकी एक नेपाली महिला अहिले निको भएकी छन्।

कोरोना संक्रमणमा उनले भोगाइ कस्तो रह्यो? नेपालमा लकडाउनपछि आ आफ्नै घरभित्रै बस्न लगाइएका नेपालीहरूलाई उनको सुझाव के छ?

उनले आफ्नो अनुभर्व बताएकी छिन्। उनी कसरी अचानक कोभिड १९ की बिरामी हुन पुगिन्? उनको भनाइको सम्पादित अंश :

म शुरूमा नियमित रूपमा काममा गएर आएँ र खाना खाएर सुतेँ। तर मध्यराति एकदम धेरै ज्वरो आयो। भोलिपल्ट म यहाँको ‘वाक इन’ क्लिनिकमा गएँ। त्यहाँ मलाई घरमै बस्ने सल्लाह दिइयो।

त्यसपछि म घर आएर बसेँ। मलाई रुघाखोकी केही पनि लागेन। खाली टाउको मात्र दुख्ने समस्या थियो।

ओषधि खाँदा पनि ज्वरो घट्दै घटेन। म औषधि खाएर बस्न थालेँ। तर ज्वरो घट्दै घटेन। अनि म फेरि त्यहीँ क्लिनिकमा गएँ। त्यहाँ मेरो खकारको नमुना लिइयो। त्यसपछि मलाई भोलिपल्ट फोन आयो अनि भनियो ‘तपाईँलाई कोभिड पोजिटिभ देखियो। सास फेर्न गाह्रो छ भने अस्पताल आउनुहोस्।’

म त्यसपछि अस्पताल गएँ। विशेष हेरचाह गर्ने एकाइमा मलाई राखियो। त्यहाँ विशेष चिकित्सक र स्वास्थ्यकर्मी मात्र जाने रहेछन्। उनीहरू त्यहाँ १५ मिनेटभन्दा बढी नबस्ने रहेछन्। उनीहरूले विशेष पोशाक लगाएका हुने रहेछन्।

बुट, गाउन, मास्क, चस्मा, टाउको छोप्ने लगायत लगाएका हुन्थे। अरू बिरामीहरू पनि थिए। उनीहरूलाई मैले धेरै पसिना आएको देखेँ। उनीहरू धेरै नजिक आउँदैन्थे। एकजना एकदमै धेरै गम्भीर बिरामी पनि थिए।

यो भाइरस कहाँ हुन्छ भन्ने नै थाहा नहुने रहेछ। त्यो अस्पतालमा बस्दा पनि मैले त्यस्तै पाएँ।

यहाँ ब्रिटेनको सरकारले पनि ‘सेल्फ आइसोलेसन’ अर्थात् एकान्तवासमैँ जोड दिएको छ। म पनि त्यहीँ भन्छु। भाइरस लागेको छ भने पनि पत्ता लगाउने समय लाग्ने रहेछ। मलाई यहाँ दश दिन पछि बल्ल जाँचियो र थाहा भयो।

त्यसैले एकदमै सावधानीपूर्वक बस्नुपर्छ। नेपालमा पनि सरकारले घरमै बस्न अनुरोध गरेको रहेछ। त्यसलाई पालना गरौँ। एकान्तवासमै बस्न सिकौँ। सरसफाइमा एकदमै ध्यान दिऔँ।

पाँच दिन त्यहाँ बसेपछि मलाई घर पठाइयो। अहिले मलाई केही आराम भएको छ। ज्वरो कम भएको छ। चिकित्सकले दुई खाले एन्टिबायोटिक्स औषधि दिएका छन्। त्यही खाएर बसेको छु।

म अहिले तल्लो तलामा एकान्तवासमैँ छु। मेरो लागि पकाउने खाने छुट्टै छ। मेरो शौचालय पनि फरक छ। श्रीमान्‌ चाहिँ माथि बस्नु हुन्छ।

स्रोत: बीबीसी नेपाली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad