मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ।
कतिपय मुलुकमा कर्फ्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ।
जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताइन्।
नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन्। तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन्।
के संयुक्तराज्य अमेरिका कोरोनाको केन्द्र होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भनिन्, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ। त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ।”
अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकारेका छन्। ‘मास्क र भेन्टिलेटरको माग तीव्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन’ ट्रम्पले भने।
अमेरिका बुधबारसम्मको तथ्यांकअनुसार कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुकको तेस्रो स्थानमा छ। अमेरिकामा ५४ हजार ९४१ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ७८४ को मृत्यु भइसकको छ। एएफपी
Shares

प्रतिक्रिया