समाज


कोरोना भाइरस फलफुल, सागसब्जी-खानाबाट सर्छ? (तथ्य जाँच)

कोरोना भाइरस फलफुल, सागसब्जी-खानाबाट सर्छ? (तथ्य जाँच)

दीपक अधिकारी
चैत १२, २०७६ बुधबार ११:८,

हालसम्म नेपालमा तीन जनालाई कोभिड–१९ देखापरेको छ। चीनको वुहानबाट नेपाल फर्केका एक ३१ वर्षिय विद्यार्थीलाई देखिएको २ महिनापछि फ्रान्सबाट आएकी एक १९ वर्षिय युवती र खाडी राष्ट्रबाट फर्किएका एक कामदारलाई उक्त रोग देखापरेको हो।

विश्वभरि नै महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसबारे आम मानिसमा जानकारीको कमी छ जसले गर्दा अपुष्ट सूचना र गलत सन्देश खासगरी सामाजिक सञ्जालमार्फत फैलिने क्रम जारी छ। फेसबुक, ट्वीटर र ह्वाट्स एपमा फैलिएका केही भ्रामक र अपुष्ट सूचनाको हामीले तथ्य जाँच गरेका छौँ।

क्लोरोक्वीन र एजिथ्रोमाइसिनको सेवनले कोभिड–१९ निको हुन्छ?
कोरोना भाइरसबाट उत्पन्न भई कोभिड–१९ बाट संक्रमित बिरामीलाई निको पार्ने औषधि अहिलेसम्म पत्ता लागेको छैन। अहिलेसम्म चिकित्सकहरुले संक्रमित व्यक्तिलाई पर्याप्त अक्सिजन दिने, ज्वरो नियन्त्रण गरी रोगीको प्रतिरोधात्मक क्षमतालाई संक्रमणसँग लड्न मद्दत गर्ने उपाय अपनाउँदै आएका छन्।

तर सामाजिक सञ्जालमा क्लोरोक्विन भनिने मलेरिया विरुद्धको औषधि र एजिथ्रोमाइसिन नामक एन्टि बायोटिक (अर्थात् जीवाणु मार्ने) औषधिको सेवन गरेमा कोभिड–१९ निको हुने दावी गरिएको छ। यी दुवै औषधि सँगै सेवन गरेमा मुटुको धड्कन बढ्ने वा ढिलो हुने डा विशाल ज्ञवाली बताउँछन्।

‘यो सुझाव तथ्यपरक नभएको र तिनको प्रभावकारिता पनि प्रमाणित नभएकोले मलाई ती दबाई सुझाउनु उचित लाग्दैन,’ उनले बताए।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनको एक शोधमा यी औषधिले कोभिड–१९ बाट हुने संक्रमण रोकथाम गर्छ भन्ने निचोडमा पुग्न आवश्यक पर्ने र्याण्डमाइज क्लिनिकल ट्रायलबाट उपलब्ध पर्याप्त तथ्यांक नभएको बताइएको छ।

वैज्ञानिकहरु यसको उपचार खोज्न अहोरात्र खटिरहेको भने सत्य हो। यसको उपचारका लागि दर्जनौ औषधिमाथि अनुसन्धान भइरहेको न्यु योर्क टाइम्सको एक आलेखमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले चारवटा सबैभन्दा सम्भावनायुक्त उपचारको परीक्षण गरिरहेको साइन्स पत्रिकाले जनाएको छ।

कोराना भाइरस केमा कति समयसम्म जीवित रहन्छ?
कोरोना भाइरस एक लचिलो र छिटो फैलिने भाइरस हो भन्नेमा वैज्ञानिकहरु एकमत देखिन्छन्। तर यो भाइरस नयाँ भएकाले कुन कुन माध्यमबाट कसरी फैलिन्छ भन्ने कुराको प्रष्ट जवाफ छैन। त्यसैगरी विभिन्न वस्तुको सतहमा कति समय जीवित रहन्छ भन्ने विषय पनि शोध अनुसन्धानको कमीका कारण अस्पष्ट थियो।

तर नील्ट्जे भ्यान डोरेमाले सहितका वैज्ञानिकको टोलीले गरेको न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखमा कोरोना भाइरस हावामा उडेर आउने थुकका कण र सतहमा केही घण्टादेखि कैयौ दिनसम्म रहनसक्ने बताएका छन्।

वैज्ञानिकहरुले उक्त भाइरस हावामा ३ घण्टासम्म, तामामा ४ घण्टासम्म, कार्डबोर्डमा २४ घण्टासम्म र प्लास्टिक र खिया नलाग्ने स्टिलको सतहमा २ देखि ३ दिनसम्म जीवित रहन सक्ने बताइएका छन्।

बीबीसीले हालै प्रकाशित गरेको एक आलेखका अनुसार ६२ देखि ७९ प्रतिशतसम्म अल्कोहल भएको स्यानिटाइजर वा यस्तै सामग्रीले सतह सफा गरेमा कारोना भाइरस निष्क्रिय हुन्छ।सार्स र मर्स भनिने उस्तै भाइरसमाथि गरिएको एक अध्ययनले कुनै वस्तुको सतहमा यससँग मिल्दोजुल्दो भाइरस ९ दिनसम्म रहने जनाएको छ। तर उक्त वस्तुको प्रकार, तापक्रम र आर्द्रतामा धेरै कुरा भर पर्ने विज्ञहरुको ठहर छ।

घाममा लुगा सुकाउँदा कोरोना भाइरस मर्छ?
घामको तापका कारण यो भाइरस मर्ने प्रमाणित तथ्य होइन। लुगामा कोरोना भाइरस ५–६ घन्टासम्म रहन्छ तर घामको तापले यो मर्छ भन्ने अहिलेसम्म पुष्टि भइसकेको छैन। 

‘घाम लागेका बेला भाइरसको वृद्धिमा कमी आउने कुरा सत्य हो। तर लुगा सुकाउँदैमा यो भाइरस मर्छ भन्ने आधार अहिलेसम्म छैन,’ डा पुष्पमणि खरालले बताए।

तर उनले कतै भीडभाडमा गइएको छ भने लुगा धोएर सुकाउने सुझाव दिए।

तातोपानीले नुहायो भने कोरोना भाइरस सर्दैन?
अधिकांश मानिसले २७–२८ डिग्रीसम्मको तातोपानीमा नुहाउँछन्। तर कोराना भाइरस ५०–६० डिग्री तापक्रममा मात्र मर्ने अहिलेसम्मका अनुसन्धानमा देखिएको छ। त्यसैले तातोपानीले नुहाउँदा यो भाइरसको संक्रमण हुँदैन भन्ने कुरा प्रमाणित हैन।

‘हाम्रो छाला वा शरीरको कुनै भाग यसबाट संक्रमित भएमा साबुन पानीले धुनु नै सबैभन्दा उत्तम उपाय हो,’ डा खरालले भने, ‘यसबाट बच्न धेरै तातो पानीले नुहाउँदा झन् दुर्घटनाको जोखिम बढ्छ।’

कोरोना भाइरस फलफुल, सागसब्जी वा खानाबाट सर्छ?
यदि कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा तपाईको खानेकुरामा उसको थुक पर्यो वा उसको जुठो तपाईले खानुभयो भने यो सर्नसक्छ। मुख्य कुरा यस भाइरस मिश्रित थोपा (थुक्दा वा हाछ्युँ गर्दा) तपाईको मुख, नाक वा आँखामा परेमा संक्रमणको सबैभन्दा धेरै जोखिम हुन्छ।

तर बारीबाट टिपेर ल्याइएका सब्जी तरकारी वा प्याकेटमा आउने सामानमा जोखिम एकदमै कम हुने विज्ञहरु बताउँछन्। यद्यपि यो एउटा नयाँ भाइरस भएकोले यसबारे धेरै कुरा ठोकुवाका साथ भन्न गाह्रो छ। पछिल्ला अध्ययनहरुले हामीलाई यसबारे बुझ्न र यसको रोकथाम गर्न मद्दत गर्नेछन्।

(यो रिपोर्ट www.southasiacheck.org बाट लिइएको हो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad