नेपालका तेस्रो कोराना संक्रमित व्यक्ति धादिङका ३२ वर्षीय पुरुष भएको पुष्टि भएको छ।
यही चैत ६ गते एयर अरेबियाबाट आएका उनी काठमाडौँमै होटेलमा बसिरहेका थिए। स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसको जानकारी दिएका हुन्।
मन्त्री ढकालका अनुसार ती युवाले मंगलबार असहज महसुस गरेपछि टेकु अस्पतालमा पुगेर स्वास्थ्य जाँच जराएका थिए। उक्त जाँचमा रिपोर्ट पोजेटिभ देखिएपछि उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
मन्त्री ढकालले भने, ‘ती व्यक्ति बसेको होटल, सम्पर्कमा आएको व्यक्तिको खोजतलास गर्ने, क्वारेन्टिनमा राख्ने, परीक्षण गराउने काममा पनि हामी विधिपूर्वक जुटिराखेका छौं।’
उनी होटलबाट अस्पताल आउँदा ट्याक्सीको प्रयोग गरेका थिए। सो ट्याक्सीको पनि खोजी भइरहेको छ।
उनको अहिले टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार अगाडि बढाइएको छ।
नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजिटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ।
* स्वास्थ्य मन्त्रालयलेको पत्रकार सम्मेलनमा संक्रमित व्यक्ति कतारबाट आएको भन्ने जानकारी दिइएकोमा पछि मन्त्रालयले विज्ञप्ति निकालेर भूलसुधार गरेपछि यो समाचार पनि सच्याइएको छ- सम्पादक।

प्रतिक्रिया