समाज


रोमानियामा राहदानी घुम्ती शिविर आउँदै, केके चाहिन्छ कागजात?

रोमानियामा राहदानी घुम्ती शिविर आउँदै, केके चाहिन्छ कागजात?

नेपालखबर
फागुन १७, २०८१ शनिबार ९:१, बुखारेस्ट (रोमानिया)

रोमानियामा रहेका नेपालीको सुविधाका लागि यहाँको राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले राहदानी विभागसँगको समन्वयमा आगामी चैत १३ देखि १८ (मार्च २६ देखि ३१) सम्म घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

दूतावासले जारी गरेको सूचनाअनुसार, २६ मार्च २०२६ भन्दा अगावै नेपाली राहदानीको म्याद सकिन लागेका रोमानियामा बस्दै आएका नेपालीहरूले नवीकरण गर्न सक्नेछन्। 

यसका लागि दूतावासले आवश्यक कागजातहरूको सूची पनि सार्वजनिक गरेको छ। 

आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन्।

राहदानी विभागको वेबसाइटमा रीतपूर्वक भरिएको अनलाइन फारामको बारकोडसहितको प्रिन्ट पनि राहदानी सेवाका लागि अनिवार्य गरिएको छ।

अनलाइन फाराम भर्दा नेपाली नागरिकताको दुवै भाग, राहदानीको फोटो भएको पेज र नजिकको व्यक्ति भएको पेज अपलोड गर्नुपर्नेछ।

दूतावासको समन्वयमा राहदानी विभागले अनलाइन फाराम भर्दा मार्च ८ गते शनिबार, मार्च ९ गते आइतबार, मार्च १५ गते शनिबार र मार्च १६ गते आइतबारका स्लटहरू रोमानियाको घुम्ती सेवाको प्रयोजनको लागि मात्र अप्वान्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिदिएको छ।

३४ पेजको विद्युतीय राहदानीको राजस्व (दस्तुर) १२० युरो तोकिएको छ। दस वर्षमुनिका नाबालकको विद्युतीय राहदानी ११० युरो (६० राहदानी दस्तुर र ५० जन्मदर्ता शुल्क) तोकिएको छ।

हराएको वा बिग्रिएको (पाना च्यातिएको/मसी पोखिएको/केरमेट भएको) हकमा १८० युरो तिर्नुपर्छ।

दस्तुर जम्मा गर्नका लागि नेपाली राजदूतावास, बर्लिनको बैंक खाताको विवरण पनि दूतावासले सूचनामा उल्लेख गरिदिएको छ।

राहदानी दस्तुर वापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा १८ मार्चसम्ममा जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट बेहोर्नुपर्नेछ। 

'रोमानियामा रहेका नेपालीहरूका लागि राहदानी सेवा प्रदान गर्न करिब एक वर्षपछि यो घुम्ती सेवा सञ्चालन हुन लागेको र यसबाट सेवा लिने नेपालीहरूको संख्या ठूलो रहने अनुमान गरिएको छ,' सूचनामा लेखिएको छ, 'तसर्थ, आफ्नो राहदानीको लागि अनलाइन फारम आफैं भर्नुहुन र त्यसरी फर्म भर्न नसक्नेलाई सँगै रहेको जान्ने नेपालीहरूले स्वयंसेवी भावले फर्म भर्न सहयोग गरिदिनुहुन पनि अनुरोध गरिन्छ।
राहदानी प्रकृयाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा रोमानिया सरकारको सम्बन्धित निकायमा लेखी पठाइने व्यहोरा समेत अनुरोध गरिन्छ।'

यसअघि तत्कालीन वाणिज्यदूत नवराज पोखरेलले सहयोग गर्ने नाममा नेपालीहरूबाट महँगो रकम असुलेको पाइएपछि उनीमाथि कारबाही गरिएको थियो। उनलाई उक्त पदबाट बर्खास्त पनि गरिएको थियो।

हेर्नुहोस् दूतावासको सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad