नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो।
महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८४ वर्षकी थिइन्।
श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
उनी ललितपुरको महर्जन परिवारमा जन्मिइन्। काठमाडौँका शंकरमान श्रेष्ठसँग प्रेम विवाह भयो।
२०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेकी शारदाले कृष्णप्रसाद भण्डारीको ‘नेपाल ल फर्म’बाट वकालत अभ्यास थालेकी थिइन्, जहाँ कृष्णप्रसाद पन्त, लवदेव भट्ट र कुसुम श्रेष्ठ पनि भेटिन्थे।
त्यसपछि केही समय उनले हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, ललितपुर र हप्ताको ३ दिन भूमिसुधार विशेष अदालत, भक्तपुरमा पनि काम गरिन्। उनी त्यहाँ काम सिक्न गएकी थिइन्। ती दुवै अदालतमा जनकमान श्रेष्ठ न्यायाधीश थिए।
एकदिन शारदा काम सकेर नेपाल ल फर्मबाट फर्किंदै थिइन्। उनको भेट तत्कालीन कानुन सचिव रामानन्दप्रसाद सिंहसँग भयो। सिंहले भूमिसुधार विशेष अदालतले न्यायाधीशका लागि विज्ञापन खुलेको सुनाउँदै आवदेन गर्न सुझाए। त्यसको भोलिपल्ट शारदाले आवेदन दिइन्। उनको नाम निस्कियो। त्यसपछि शारदा भूमिसुधार अदालत, कास्की र लमजुङका लागि नियुक्ति लिएर नेपालको पहिलो महिला न्यायाधीशको इतिहास लेख्न सफल भइन्।
‘त्यही समयबाट महिला पनि अदालतको न्यायाधीश बन्ने प्रचलन सुरु भएको हो। यसले मजस्ता कानुन पढेका महिलाका लागि माथि जान सक्ने थप सम्भावनाको ढोका खोलिदियो,’ उनले नेपालखबरसँगको अन्तर्वार्तामा भनेकी थिइन्।
त्यसपछि शारदाले निरन्तर ४ दशक न्यायाधीशका रूपमा काम गरिन्। जिल्ला र तत्कालीन पुनरावेदन अदालत हुँदै २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन्।
उनी नेपालको न्यायालयमा पहिलो महिला न्यायाधीश र सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। करिब ४ दशक न्याय सेवामा बिताइन्। २०६५ जेठ २० मा सर्वोच्चबाट बिदा भएकी थिइन्।
Shares

प्रतिक्रिया