समाज


रारा किनारको डाँफे होटलमा आगलागी : पाँच घर जले, सबै पर्यटक सुरक्षित

रारा किनारको डाँफे होटलमा आगलागी :  पाँच घर जले, सबै पर्यटक सुरक्षित

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १७:५४, काठमाडौँ

रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घट्नापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ। यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन्।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो।

आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए। 'काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ', उनले भने।

आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगालागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन्। 

'आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए। उनीहरु सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए', उनले भने। राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घटनास्थलमा पुगेर आगो निभाएका थिए। 

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो।

आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि पुगेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad