समाज


ओली-देउवा दुवै रिझाएका थापालाई रोकेर आईजीपी बन्न गिरी र तामाङलाई कठिन

ओली-देउवा दुवै रिझाएका थापालाई रोकेर आईजीपी बन्न गिरी र तामाङलाई कठिन

उजिर कार्की
फागुन १४, २०८१ बुधबार २२:३९, काठमाडौँ

नेपाल प्रहरीले तीन सातापछि नयाँ नेतृत्व पाउँदैछ। हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर चैत ५ गते अनिवार्य अवकाश हुने छन्।

८ जनाको दरबन्दी रहेको प्रहरीका ५ जना एआईजी पनि अनिवार्य अवकाश हुने भएपछि बाँकी तीन एआईजी मध्येबाट आईजीपी बन्ने छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मध्येबाट एकजनाले अब प्रहरीको नेतृत्व गर्ने छन्।

अरु एआईजीहरू प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह र अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत चैत ५ गते नै अवकाश हुने छन्। 

एआईजीमा बढुवा सिफारिस भइसकेका जनकराज भट्टराई पनि फुली लगाएको दुई साता मात्रै सेवामा रहन्छन्। उनी पनि कुँवरकै ब्याची हुन्। 

त्यसपछि रहने तीनै जनाले कुँवरकै टोलीसँग २०५१ चैतमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गर्दा वैकल्पिकमा नाम निकालेका थिए। उनीहरू २०५२ भदौ ११ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन्। 

कुँवरको ब्याचका सबै अधिकारीहरू ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश हुँदा थापा, गिरी र तामाङमध्ये एकले छोटो समयका लागि भए पनि नेतृत्वमा पुग्ने मौका पाएका हुन्। 

प्रहरीमा ३० वर्षे हटाउने सहितका व्यवस्था ल्याउने गरी विधेयक संसदमा पेस भइसकेको छ। यदि उनीहरूको कार्यकालभित्रै विधेयक पारित भएर नयाँ ऐन कार्यान्वयनमा आएमा उनीहरू तीनैजनाको कार्यकाल थपिन सक्छ। 

तर यही व्यवस्था रहेमा आगामी भदौ ११ गते तीनैजना अवकाश हुनेछन्। छोटो समयकै लागि मात्रै आईजीपी बन्ने भएकाले पनि यसपटक आईजीपी बन्न अस्वाभाविक चलखेल देखिएको छैन।

दुवै शक्ति रिझाउँदै थापा 
आईजीपी नियुक्तिको मिति नजिकिँदै जाँदा सबैभन्दा बलियो देखिएका छन् दीपक थापा। दुई साता सिनियर भएकाले मात्रै होइन, वर्तमान सत्तासँग उनको सम्बन्ध पनि सुमधुर छ। 

राजनीतिक रुपमा एमाले र माओवादीसँग उत्तिकै निकट रहेका थापाले पछिल्लो समय कांग्रेस नेताहरूलाई पनि रिझाइसकेको प्रहरी अधिकारीहरू बताउँछन्।

‘यो सत्ता गठबन्धन बनिसकेपछि उनले दुवै कार्यालयमा रहँदा गरेका कामहरू मात्रै हेर्नु भयो भने पनि अबको आईजीपी को हो भन्ने बुझ्न सकिन्छ,’ अवकाश हुन लागेका एक एआईजीले भने, ‘काठमाडौँ उपत्यका प्रहरी कार्यालय हुँदा र सीआईबीमा काम गरिरहँदा उहाँले कांग्रेससँग पनि सम्बन्ध बलियो बनाइसक्नु भयो।’

सीआईबीमा रहँदा थापाले बाल मन्दिरको सरकारी जग्गा प्रकरणमा मुद्दा नचल्ने गरी फाइल अघि बढाएका छन्। बाँसबारी छाला जुत्ता कारखानाको जग्गाको विषयमा त मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ताबाटै भइसकेको छ। 

यस्तै, उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको मुद्दा अगाडि बढ्यो। बेचन झाबाट कांग्रेस र एमालेका उच्च नेतासम्म अनुसन्धान पुग्ने धेरैको आकलन थियो। यसअघि पक्राउ गरेर मुद्दा चलाइएका अभियुक्तहरूले पनि झा पक्राउ परे उच्च तहसम्म अनुसन्धान पुग्ने र राजनीतिक रुपमा उच्च तहमा मिलाउने व्यक्ति उनी नै भएको बयान दिएका थिए। 

तर बेचन झा पक्राउ परेर अभियोग दर्ता भयो। झाबाट एउटा पनि थप अभियुक्त तानिएनन्। यी मुद्दाका कारण थापाको कांग्रेस नेताहरूसँग पनि सम्बन्ध राम्रो बनेको ती एआईजीको दाबी छ। 

उनी नै भावी आईजीपीका लागि बलियो दाबेदार हुन् भन्ने दृश्य प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा बालुवाटारमै देखियो। अरु प्रहरी अधिकारीहरू जन्मदिनको शुभकामना दिन बाहिर पुष्पगुच्छा बोकेर लाइन लागेका थिए। तर दीपक थापाले भने भित्र प्रधानमन्त्रीसँग लामो समय बिताएको एक एआईजीले बताए। 

‘यसबाट पनि थापाप्रति वर्तमान सरकार कति सकारात्मक छ भन्ने देखिन्छ, सिनियर पनि भएको र सत्तामा रहेका दुवै दलका नेताहरूसँग सम्बन्ध पनि राम्रो भएकाले उनको विकल्पमा जाने सम्भावना कम छ,’ ती अधिकारीले दाबी गरे।

थापा २०७९ चैत ६ गते तेस्रो नम्बरमा रहँदै एआईजीमा बढुवा भएका थिए। उनीभन्दा अगाडी आईजीपी कुँवर र टेकप्रसाद राई थिए। दुवैजना अवकाश हुन लागेका छन्। 

अघिल्लोपटक नै आईजीपीका दाबेदार देखिएका थापाले त्यसपटक बाजी मार्न सकेनन्। तर अबको आईजीपीका लागि भने उनी पहिल्यैबाट ढुक्क छन्। थापाभन्दा एक सातापछि चैत १३ गते गिरी र तामाङ एआईजीमा बढुवा सिफारिस भएका थिए। 

कांग्रेस फकाउँदै गिरी, तामाङलाई अख्तियार प्रमुखको भर 
एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि प्रहरी नेतृत्वमा पुग्ने कसरतमा छन्। गिरी खासगरी कांग्रेस नेताहरूलाई रिझाएर आईजीपी बन्ने दाउमा छन्। 

कांग्रेसनिकट मानिने गिरीलाई यसअघि डीआईजीमा बढुवा गर्दा अगाडि ल्याइएको थियो। एआईजीमा पनि उनले आफ्नो वरीयता कायम राखे। कांग्रेसले चाहेमा आफूलाई आईजीपी बनाउन सक्ने विश्वास उनलाई छ। 

आफूभन्दा अगाडि रहेका थापा दुईसाता मात्रै सिनियर हुनु र भर्ना एउटै ब्याचको भएकाले आफू आईजीपी बन्न सक्ने भन्दै उनले लबिइङ गरिरहेका छन्। गिरीको शेरबहादुर देउवादेखि, शेखर कोइराला र बालकृष्ण खाँणसँग राम्रो सम्बन्ध छ। 

यसअघि धिरजप्रताप सिंह विश्वराज पोखरेलभन्दा १५ महिनापछि मात्रै एआईजीमा बढुवा भएका थिए। सिंहलाई आईजीपी बनाउँदा सिनियर भनिएका विश्वराज पोखरेल एआईजीमै रोकिन पर्‍यो।

सरकारले गलत निर्णय गरेको भन्दै पोखरेल सर्वोच्च गए। तर सर्वोच्चले पनि सरकारको निर्णय बदर गर्न सकेन। सोही नजिरलाई हेरेर गिरी कांग्रेस केन्द्रित लबिइङमा छन्। यदि कांग्रेसले गिरीकै पक्षमा अडान लिएमा उनी पनि आईजीपी बन्न सक्छन्। 

काठमाडौँ उपत्यका प्रहरी प्रमुख टेकबहादुर तामाङले पनि प्रयास गरिरहेका छन्। तर उनी आफैँभन्दा पनि उनका लागि अरुले लबिइङ गरिरहेका छन्। प्रहरी स्रोतका अनुसार तामाङलाई आईजीपी बनाउन झापाका एमाले नेतादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई पनि लागि परेका छन्। तामाङले अख्तियारमा लामो समय काम गरेका थिए। 

जसको सत्ता हुँदा पनि तामाङले सन्तुलित रुपमा जिम्मेवारी पाएका र बढुवा भएका थिए। अहिले उनलाई आईजीपी बनाउन पर्छ भनेर एमाले नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लबिइङ गरिरहेका छन्। झापामा आफन्त रहेका तामाङले यतिबेला ओलीको साथ खोजेका छन्।

तर ओलीले तामाङलाई आईजीपी बनाउन थापालाई छाडेर मात्रै हुँदैन गिरीको पक्षमा आउने कांग्रेसको दबाब पनि झेल्नुपर्छ। यदि प्रधानमन्त्री ओली यसका लागि सकारात्मक भएमा तामाङको पनि प्रहरी संगठनको नेतृत्व गर्ने सम्भावना नभएको भने होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad