समाज


किट कलेजबाट फर्किएका विद्यार्थीले त्रिविमा भर्ना पाउने

किट कलेजबाट फर्किएका विद्यार्थीले त्रिविमा भर्ना पाउने

नेपालखबर
फागुन १३, २०८१ मंगलबार २१:१६, काठमाडौँ

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट फर्केका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी त्रिविमा ‘अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने’ जनाएको छ।

त्रिविले भनेको छ, ‘भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट मा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना गर्न सकिने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।’

ईच्छुक विद्यार्थी एवम् अभिभावकहरूलाई त्रिविको इमेल ठेगानामा सम्पर्क गर्न समेत त्रिविले आग्रह गरेको छ।

किट विश्वविद्यालयको होस्टेलमा फागुन ४ गते नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएपछि उनको न्यायको माग गर्दै आवाज उठाएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले जवर्जस्ती निकाला गरेको थियो।

उनीहरूमध्ये अधिकांश स्वदेश फर्किसकेका छन्।

सो प्रकरणमा प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad