दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माणस्थलमा मङ्गलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमले पुलको एउटा भाग भत्किएको र धुलोको मुस्लो उडिरहेको नाटकीय फुटेज प्रसारण गरेका छन्।
घटनामा चार जनाको मृत्यु भएको, पाँच जना गम्भीर घाइते भएको र एक जना सामान्य घाइते भएको नेसनल फायर एजेन्सीले जनाएको छ।
मृत्यु हुनेमा दुई जना चिनियाँ र दुई जना दक्षिण कोरियाली नागरिक रहेको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरे।
दक्षिण कोरियाको राजधानीबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने एन्सियोङमा स्थानीय समयअनुसार बिहान ९ः५० बजे सो घटना भएको हो।
नेसनल फायर एजेन्सीका प्रवक्ताले भने, ‘घाइते भएका सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ।’
नेसनल फायर एजेन्सीले सुरुमा नजिकैको चिओनान सहरमा आगलागी भएको बताएको थियो तर पछि उक्त दाबीलाई सच्याएको थियो।
निर्माणस्थलको मुख्य ठेकेदार हुन्डाई इन्जिनियरिङले माफी माग्दै अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो निर्माणस्थलमा भएको दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाएका र घाइते भएकाहरूप्रति क्षमायाचना गर्दछौँ घटनाका लागि हामी नतमस्तक छौँ।’
‘हामीले निर्माणस्थलमा शीघ्र समाधान सुनिश्चित गर्न र दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गरिरहेका छौँ,’ कम्पनीले भनेको छ।
कार्यवाहक राष्ट्रपति चोइ साङ-मोकले उद्धारकार्यका लागि उपलब्ध सबै स्रोत साधन र जनशक्ति परिचालन गर्न तत्काल निर्देशन दिएका छन्।
दक्षिण कोरियामा सन् २०२० देखि २०२३ सम्ममा आठ हजारभन्दा बढीको मृत्यु कार्यस्थलमा दुर्घटनाका कारण भएको सियोलको श्रम मन्त्रालयले जनाएको छ। रासस/एएफपी
Shares

प्रतिक्रिया