समाज


सुमेरु सहकारी ठगी प्रकरण : फाइल हटाइदिने अडिओ बाहिरिएपछि मन्त्रीका स्‍वकीय मृत भेटिए

सुमेरु सहकारी ठगी प्रकरण : फाइल हटाइदिने अडिओ बाहिरिएपछि मन्त्रीका स्‍वकीय मृत भेटिए

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १६:३५, हेटौँडा

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। उनले सोमबार (हिजो) राति गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेको प्रहरीले बताएको छ।

धादिङको धुनिबेँसी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए। 

प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको खुलेको छ। 

थापा र धादिङकै अर्का कांग्रेस नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो।

यसपछि सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई सोमबार (हिजो) बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए। 

बर्तौला पक्राउ परेपछि सँगै फोनवार्ता गरेका थापाले १ पानाको सु–साइट नोट लेखेर विष सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोराले जानकारी दिए। 

उनका अनुसार सोमबार दिउँसो २ बजे कालिमाटीमा रहेको साथीको कोठामा विष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० तिर उपचारको क्रममा सहिद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको हो। 

सामाजिक सञ्जालमा भेटिएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला र मन्त्रीका स्वकीय सचिव थापाबीच कुराकानी भएको प्रहरीले जनाएको छ। 

यता, सहकारी मन्त्री श्रेष्ठका अनुसार थापा उक्त दिन बिदामा थिए। छोरीको जन्मदिनका लागि धादिङ (घर) गएको उनी बताउँछन्। 

‘म त त्यो दिन हेटौंडा नै थिएँ,’ मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘एउटा मिडियाले भ्वाइस रेकर्ड सहितको समाचार प्रकाशन गरेको रहेछ। सो अडियोमा उसको (रवि) को पनि आवाज रैछ। मैले मन्त्रालयको विषयमा नकारात्मक कुरा फैलाएको भन्दै राजु बर्तौलालाई प्रहरीको निगरानीमा लिन भनेँ। त्यसैमा उसको पनि संलग्नता रहेछ। डरले विष सेवन गरिदियो।’

कोठामा उनले लेखेको सुसाइड नोटमा मन्त्री श्रेष्ठलाई ‘सरी दाइ’ भन्दै आफूले गल्ती नगरे पनि फसाउन खोजेको कारण आत्महत्या गरेको भन्ने उल्लेख गरेको मन्त्री श्रेष्ठले बताए। 

‘हाम्रो मन्त्रालय, मन्त्री र सचिवालयले राम्रो काम गरेको भएर फसाउनका लागि यो सबै गरेका हुन्। सुसाइड नोटमा लेखिएका शब्द उल्लेख गर्दै श्रेष्ठले भने, ‘हाम्रो कुरा त भएको थियो दाइ! तर यस्तो बार्गेनिङ गरेरचाहिँ भएको थिएन। फरक विषयमा भएको कुराको नराम्रो बनाउनको लागि अडियो सम्पादन गरेको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad