समाज


बिदा हुँदै ०५१ को ब्याच: आईजीपीसहित यी एआईजी र डीआईजी पनि घर जाँदै

आईजीपी कुँवरले ब्याचीलाई रिझाए, भट्टराईले फुली नै नलगाइ बुझे अवकाश पत्र
बिदा हुँदै ०५१ को ब्याच: आईजीपीसहित यी एआईजी र डीआईजी पनि घर जाँदै

उजिर कार्की
फागुन १२, २०८१ सोमबार २१:५९, काठमाडौँ

यसअघि पटकपटक चर्चामा आएको तर अगाडि नबढेको प्रहरी विधेयक संसदमा पेस भइसकेको छ। यसअघिका प्रहरी महानिरीक्षकहरूले पनि यसलाई अगाडि बढाउने प्रयास गरेका थिए। तर, आफ्नै कार्यकालमा कार्यान्वयन नहुने र पछिल्लो ब्याचलाई ब्रेक लाग्ने भएपछि तिनले नयाँ प्रहरी ऐनको तयारी गर्न सकेनन्।

प्रहरीको कार्यकाल थपिने र जवानलाई छिट्टै (१६ वर्ष) मा पेन्सन हुने व्यवस्था भएको विधेयकमाथि संसदमा छलफल चलिरहँदा त्यसको तयारी गर्ने प्रहरी महानिरीक्षकसहितका अधिकारीहरू भने अवकाशको पत्र बुझेर बिदाइको तयारीमा छन्।

आगामी चैत ५ गतेदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ गते भर्ना भएका टोली बिदा हुँदैछ। अधिकांश उमेर हदका कारण यसअघि नै अवकाश भए पनि आईजीपी कुँवरसहित ५ एआईजी र ३ जना डीआईजी तीन सातापछि अवकाश हुन लागेका हुन्। उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको पत्र समेत बुझाइसकेको छ।

अतिरिक्त महानिरीक्षकहरू (एआईजी) प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र एआईजीमा बढुवा सिफारिस भइसकेका जनकराज भट्टराई एकसाथ अवकाश हुनेछन्। भट्टराई हाल कर्णाली प्रदेशको प्रमुख छन्। बढुवा भएपछि उनी प्रदेश समन्वय विभागमा छोटो समयका लागि रहनेछन्। 

भट्टराईले एआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाउनै बाँकी भए पनि अवकाशको पत्र बुझिसकेका छन्। उनलाई एआईजी बनाउनकै लागि प्रदेश समन्वय विभागमा कार्यरत रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो। केसीको सेवा अवधि पनि आगामी चैत ५ गतेसम्म भए पनि ४० दिनअघि नै जागिर छाड्न दबाब दिइएको हो। 

आईजीपीले आफ्ना ब्याची सबैलाई बढुवा दिएर सँगै अवकाश हुन लागेका हुन्। केसीले राजीनामा नदिएको भए भट्टराई डीआईजीमै अवकाश हुनेथिए। तर एआईजीमा अवकाश हुँदा थप सेवा सुविधा हुने भएकाले आईजीपी कुँवर र गृहमन्त्री रमेश लेखकले अवकाश हुन लागेकालाई छानीछानी बढुवा दिएका हुन्। आफ्ना ब्याचीलाई रिझाएर र संगठनका लागि नयाँ प्रहरी ऐन अगाडि बढाएर कुँवर बिदा हुँदै छन्। 

उनी २०७९ चैत १० गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।  

अहिले संसदमा पेस भएको प्रहरी विधेयक पारित भएर नयाँ प्रहरी ऐन कार्यान्वयनमा आएपछि कुँवरले जसरी अन्य प्रहरी अधिकारीहरूले पदावधि नसकिँदै बिदा हुन पर्ने छैन। 

प्रस्तावित नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था हटाइएको छ। उमेर हदमा पनि हेरफेर गरिएको छ। 

हालसम्म अधिकांश उच्च अधिकारीहरू पद अनुसारको उमेर हदकै कारण छिट्टै अवकाश हुन परेको छ। कुँवरकै ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा लगायत पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भएका थिए। 

पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनालले पनि उमेर हदकै कारण ३० वर्षे सेवावधि पूरा गर्न पाएनन्। उनीहरू डीआईजीबाटै अवकाश भए। 

दुई एसपी पनि घर जाँदै 

प्रहरी महानिरीक्षक कुँवरको ब्याच प्रहरी निरीक्षकमा भर्ना भएकै वर्ष प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका सञ्जयबहादुर राउत र श्यामकुमार राई पनि अवकास हुने भएका छन्। उनीहरु प्रहरी उपरीक्षक (एसपी) बाटै अवकाश हुने भएका छन्। 

राउतले २०५८ सालमा र राई २०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका थिए। तर कारबाहीमा परेका कारण एसपीमै रोकिएर अवकास हुन लागेका हुन्। 

२०५१ भदौ १६ गतेको टोलीमा प्रतिस्पर्धा गर्दा वैकल्पिकमा रहेकाा राउत र राई चैत १ मा भर्ना भएका थिए। उनीहरुसँगै प्रतिस्पर्धा गरेका अरु अधिकारीहरु भने भदौ १६ गते अवकास भइसकेका छन्। 

२०५२ को टोलीलाई पनि ३० वर्षेकै चिन्ता
अहिलेका अधिकांश एआईजी र केही डीआईजी अवकाश भएपछि पनि उनीहरूसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेर वैकल्पिकमा परेका ६ जना अधिकारीहरू भने बाँकी रहने छन्। चैत ५ गतेपछि यही वैकल्पिक टोलीले प्रहरी संगठनको नेतृत्व गर्नेछ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई)का निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मध्येबाट चैत ५ गतेपछि आईजीपी बन्ने छन्।

यस्तै सीआईबीका डीआईजी चन्द्रकुबेर खापुङ, मधेस प्रहरी प्रमुख लालमणि आचार्य र बागमती प्रदेश प्रमुख कृष्णहरि शर्मा पोखरेल चैत ५ पछि एआईजीमा बढुवा हुनेछन्। 

नयाँ प्रहरी ऐन कार्यान्वयनमा नआए उनीहरूको सेवा अवधि छोटो हुनेछ। 

अहिलेकै व्यवस्था कायम रहे दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ २०८२ भदौ १९ गतेदेखि अनिवार्य अवकाश हुनेछन्। उनीहरू तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन्। एकजना आईजीपी र बाँकी दुईजना एआईजीबाटै अवकाश हुने अवस्था छ। 

डीआईजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल भने २०८२ कात्तिक २७ गतेसम्म सेवामा रहने छन्। आईजीपी कुँवरकै ब्याचको वैकल्पिक सूचीमा रहेका उनीहरू २०५२ कात्तिक २७ गते मात्रै नियुक्त भएका थिए। 

तर थापा र खापुुङसँगै नियुक्त भएका टोलीको प्रहरीमा भविष्य कति समय हुन्छ, त्यो नयाँ प्रहरी ऐन कहिलेबाट कार्यान्वयनमा आउँछ भन्ने विषयले निर्धारण गर्नेछ। गृहमन्त्री रमेश लेखकले संसदमा पेस गरेको प्रहरी विधेयकमा ५२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad