समाज


महाशिवरात्रि: पशुपतिनाथमा मन्त्रीको नेतृत्वमा प्रभातफेरी

महाशिवरात्रि: पशुपतिनाथमा मन्त्रीको नेतृत्वमा प्रभातफेरी

पशुपतिनाथ परिसरमा सोमबार बिहान गरिएको प्रभातफेरी। तस्बिर: सरोज नेपाल


नेपालखबर
फागुन १२, २०८१ सोमबार १०:३३, काठमाडौँ

महाशिवरात्रि तयारीका क्रममा सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो।

पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरि पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुन: मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो।

प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए। महाशिवरात्रिको पूर्वसन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो। दर्शनार्थीहरूलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूल मन्दिर परिक्रमा गरेर मात्र फर्किएका थिए।

तस्बिर: संकृतिमन्त्री बद्री पाण्डेको सचिवालय

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। बुधबार (फागुन १४)गते परेको महाशिवरात्रिमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ। साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ।

शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad