समाज


सर्लाहीमा जंगली हात्तीको आतंक

सर्लाहीमा जंगली हात्तीको आतंक

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८१ सोमबार ११:२, सर्लाही

विगत केही दिनदेखि सर्लाहीका विभिन्न ठाउँमा जंगली हात्तीले आतंक सिर्जना गरेको छ। यस अवधिमा हात्तीले आधा दर्जनजति घरगोठ भत्काएको छ भने धेरै किसानको बालीनालीमा पनि क्षति गरेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ। 

हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर लगायतका ठाउँमा हात्तीले उपद्रो मच्चाएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले जानकारी दिए। 

‘अहिले सर्लाहीका जुनजुन ठाउँमा हात्ती देखिएको छ, यो क्षेत्र उसको प्राकृतिक रुट र वासस्थान हो,’ झाले नेपालखबरसँग भने, ‘यो क्षेत्रमा हरेक वर्ष हात्ती आउँछ। हामी हात्तीले मानवीय र भौतिक क्षति नगरोस् भनेर सचेत छौँ। त्यहीअनुसार निगरानी पनि गरिरहेका छौँ।’ 

हात्तीलाई डार्ट गरेर अन्त लान पनि नसकिँने र धेरै हल्लाखल्ला गरेर भगाउन खोजियो भने हात्ती उल्टै झन् बढी आक्रामक हुने जोखिम रहेको उनले बताए।

‘हात्तीले घरगोठ भत्कायो, बालीनाली नास गर्यो, मानवीय र अन्य भौतिक क्षति गर्यो भने राज्यले क्षतिपूर्ति दिन्छ। अहिलेसम्म आधा दर्जनजति घरगोठ भत्काएको छ। धेरैको बालीनाली क्षति गरेको छ। प्रहरी रिपोर्टको आधारमा हामी पीडितलाई क्षतिपूर्ती दिन्छौँ,’ झाले भने।

उनले हात्तीले मानवीय र भौतिक क्षति नगरोस् भनेर गएराति पनि वन कार्यालयको टोलीले हात्ती देखिएका क्षेत्रमा निगरानी गरेको जानकारी दिए।  

अहिले सर्लाहीमा आधादर्जन जतिको संख्यामा जंगली हात्ती देखिएका स्थानीयले बताएका छन्। बरहथवाको पैँतालिस बिघा, रानीगञ्ज, बागमती लगायतका क्षेत्रमा हात्ती देखिएको जानकारी स्थानीयले दिएका छन्। 

प्रसस्त मात्रामा खाना र पानी पायो भने हात्ती एक महिनासम्म पनि एउटै क्षेत्रमा बस्न सक्ने नत्र केही समयपछि आफ्नो बाटो लाग्ने झाले बताए। 

‘यहाँ धेरै लामो सयमसम्म हात्ती बस्यो भने हामी भारतबाट पटका ल्याएर पनि भगाउँछौँ। त्यसो गर्दा हात्ती झन् इरिटेड हुनसक्ने डर चाहिँ हुन्छ,’ उनले भने। 

सर्लाहीको हरिवन र बागमती नगरपालिकाका विभिन्न क्षेत्रमा आइतबार दिउँसै हात्ती देखिएको स्थानीयले बताएका छन्। 

हात्तीले हरिवन नगरपालिकाको घुर्कौलीका केही घर मकै बालीमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाका विभिन्न बस्तीमा पसेर हात्तीले बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुयाएर उपद्रो मच्चाएको छ। 

बागमती नगरपालिका–३, धरहरा निवासी बाबुलाल स्याङ्तानको घर भत्काएर हात्तीले दुई क्विन्टल धान खाइदिएको छ। त्यसैगरि हात्तीले स्थानीय रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको मकै बाली नष्ट गरेको छ। 

त्यसैगरि हरिवन नगरपालिका–६, चार्लीटोलका डिल्लीप्रसाद उप्रेती, लक्ष्मीप्रसाद भुर्तेल, मीनप्रसाद उप्रेतीको पनि बालीनालीमा क्षति गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad