समाज


बीमाको २५ लाखका लागि ४ वर्षे छोरीको हत्या

बीमाको २५ लाखका लागि ४ वर्षे छोरीको हत्या

दीपक खरेल
असार २०, २०७६ शुक्रबार ९:६,

मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान मध्येकी कान्छी छोरी हुन् लक्ष्मी। ४ वर्षे बालिका उनी सधैँजस्तै २०७६ असार १६ गते राति खाना खाइन् र सुत्न आमा लीलादेवीको ओछ्यानतर्फ गइन्। दिनभरि कामले थाकेकी आमा तथा छोरी भुसुक्क निदाए।

करिब साढे ११ बजेको हुँदो हो आमा ब्युँझिइन्। तर छेउमा सुतेकी छोरी त्यहाँ थिइनन्। उनी आत्तिइन्। निदाएका परिवारका अन्य सदस्यहरु सबै ब्युँझिए। घरमा उनी फेला परिनन्। बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय मौलापुरमा खबर पुग्यो। केही बेरमा प्रहरी घटनास्थल आइपुग्यो।

प्रहरीका जिल्ला र प्रदेश प्रहरीका इकाइ बालिकाको खोजीमा जुटे। हुलियाका आधारमा भारतीय सीमामा समेत चेकजाँच तीब्र बनाए।

बिहान करिब साढे ५ बजे स्थानीय केटाकेटीहरु शौच गर्न निस्किएका थिए। उनीहरुले स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको देखे। शव देख्नेहरु तर्सिए।

उनीहरुले पनि प्रहरीलाई खबर गरे। बालिका खोजी गरिरहेको प्रहरी र परिवारका सदस्य गएर हेर्दा शव लक्ष्मीकै भएको खुल्यो।

४ वर्षे बालिकाको हत्या कसले गर्यो भन्ने विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान निमर्म निष्कर्षमा पुगेको छ। अनुसन्धानको सुइ पिता रामकिशोरतर्फ सोझिएको थियाे। योभन्दा डरलाग्दो कुरा त २५ लाख रुपैयाँका लागि उनले छोरीको हत्या गरेको साबिती बयान दिएका छन्।

‘कसैमाथि शंका छ भनेर रामकिशोरलाई सोध्दा एक जना ब्यक्तिको नाम किटेर भनेका थिए,’ रौतहट प्रहरीका डिएसपी नवीन कार्की भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा छोरीको हत्या बाउले गरेको देखियो। त्यसको कारण रकम भएको खुलेको छ।’

पोष्टमार्टम रिपोर्टले हत्यापछि मात्र पानीमा फालेको देखाएको छ।

घटना शंकास्पद र रहस्यमय देखिएपछि जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले सोही दिन डिएसपी कार्कीको कमाण्डमा दुईजना प्रहरी निरीक्षकसहित सात सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए।

मृतक लक्ष्मीको २०७६ जेठ १९ गते २५ लाख रुपैयाँको जीवन बीमा भएको छ। प्रभु लाइफ इन्स्युरेन्स गरुडा उप शाखाबाट उनको बीमा भएको हो।  बाबु रामकिसोरले योजनाबद्ध रुपमा बीमा गराई छोरीको हत्या गरेको निष्कर्ष प्रहरीको छ।

यो सूचनाका आधारमा परिवार सदस्यलाई शंकाको घेरामा राखेर प्रहरीले अनुसन्धान गरेको थियो।

आरोपी रामकिसोरले ५ सन्तानमध्ये सबैभन्दा कान्छी सानी छोरीको मात्र जीवन बीमा गराउनु, जीवन बीमाको रकम अस्वभाविक रुपमा आर्थिक हैसियतभन्दा ठूलो हुनु, घरबाटै रहस्यमय तवरबाट हराउनु, सो रात बाबुका गतिविधि शंकास्पद देखिनु र उनको बयान फरक भएपछि अनुसन्धान उनमै केन्द्रित भएको थियो।

प्रहरीले बिहीबार रामकिसोरलाई गौरबाट पक्राउ गरेर कडिकडाउ गरेपछि उनले घटनामा संलग्नता र सहयोगीको खुलासा गरेका छन्। प्रहरीसँगको बयानमा घरमा निदाइरहेकी छोरीलाई मध्यरातमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म लगेको बताएका छन्। ‘त्यहीँ घाँटी थिचेर हत्या गरेँ र शव पोखरीमा फालेँ’, उनले प्रहरी बयानमा भनेका छन्।

बीमा रकम प्राप्तगर्ने योजनाअनुसार हत्या गरेको उनले स्वीकारेका छन्। सुरुमा ३० लाखको बीमा गराउन चाहेको तर बीमा कम्पनीले ३० लाखको गर्न आमा वा बाबु मध्ये एक जनाको समेत ३० लाखको बीमा हुनु पर्ने कुरा बताएपछि २ दिन पछि २५ लाखको बीमा गराएको अनुसन्धानबाट देखिएको छ।

प्रहरी अनुसन्धानमा जीवन बीमा गराउने अभिकर्ता धर्बेन्द्र यादवले रामकिसोरलाई उपाय सिकाएको खुलेको छ। उनी लक्ष्मीको बीमाको प्रस्तावक पनि हुन्।

प्रहरीका अनुसार ३९ वर्षीय रामकिसोर द्वन्द्वकालमा नेकपा माओवादीमा सक्रिय थिए। भूमिगत समयमा राम किसोर यादव उर्फ ढकालका नामले चिनिएका उनी २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्।

प्रहरीले मुख्य अभियुक्त रामकिसोर र बीमा एजेन्ट धर्बेन्द्र यादव दुवैलाई मुलुकी अपराध सहिंता २०७४, ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी शुक्रबार म्याद थप गरेको छ। धर्बेन्द्र फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .