काठमाडौँको हनुमान ढोकामा एक पुरुषको हत्या गरेको अरोपमा पक्राउ परेका दुवै जना नाबालक रहेको खुलेको छ।
अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो।
उनको सनाखत हुन नसके पनि हत्या आरोपमा प्रहरीले तत्काल दुई जनालाई पक्राउ गरिसकेको छ।
पक्राउ परेका दुवै जना नाबालक रहेको खुलेको हो। प्रहरीका अनुसार एक जना रामेछापका र अर्का झापाका हुन्। उनीहरुले हत्या गरेको स्वीकार गरेका छन्।
सीसीटीभी फुटेजमा पनि घटना देखिएको छ। आफूहरुलाई सुई लगाइदिन्छु भनेपछि झगडा भएको र त्यही क्रममा कुटाकुट भएको बताएका छन्।
मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ। तर अन्य पहिचान भने नखुलेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
उनको हत्या गरेको सीसीटीभी फुटेजका आधारमा दुई जनालाई पक्राउ गरेको हो। सीसीटीभीमा बाँसले हानेर हत्या गरेको देखेपछि उनीहरूलाई पक्राउ गरेको बोहराले बताए।
प्रहरीले कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान थालेको छ। मृतकको सनाखत गर्न उनको मोबाइलमा भेटिएका नम्बरमा फोन गरेर प्रहरीले प्रयास गरिरहेको छ।
Shares

प्रतिक्रिया