हेटौंडा औद्योगिक क्षेत्र परिसरमा रहेको एन्टारटिक बिस्कुट उद्योगले गत माघ महिनाको २९ गतेबाट श्रम सम्झौता सकिएका श्रमिकहरूको सम्झौता थप नगरेको भन्दै श्रमिकहरू आन्दोलनमा उत्रिएका छन्।
एकैपटक ९७ जना कर्मचारीलाई कामबाट निकालेको भन्दै उनीहरूले पुनः काममा फर्कने वातावरण तयार गरिदिन दबाबमूलक आन्दोलन गरेका हुन्।
गैरकानुनी तरिकाबाट निष्काशनमा परेका श्रमिकहरूलाई पुनर्बहाली गर्नुपर्ने उनीहरूको माग छ।
उद्योगले श्रमिकको मौलिक हक हनन गरेको भन्दै ट्रेड युनियन मकवानपुरले मागहरू पूरा नभएसम्म चरणबद्ध किसिमले आन्दोलन गर्ने जनाएको छ। यसका लागि युनियनले आन्दोलनका कार्यक्रमहरू समेत घोषणा गरेको छ।
विगत १२ वर्षदेखि सोही बिस्कुट उद्योगमा काम गर्दै आएका विश्वराज बजगाईँले उद्योग प्रशासनले गलत मनसाय राखेर आफूहरूलाई कामबाट निकालेको बताए।
‘अनुचित श्रम अभ्यास गरेको भनेर मैले आवाज उठाएकै भरमा मलाई विभिन्न प्रपञ्च रचेर कामबाट निकालियो’, उनले भने, ‘झुटा कागजहरू तयार गरेर कामबाट निकाल्ने बाटो खोजियो। यो श्रमिकमाथिको दमन हो।’
यता, श्रम ऐनविपरीत आन्दोलनको नेतृत्व गर्ने मजदुर नेतालाई अनावश्यक लाञ्छना लगाई निष्काशन गर्नु अनुचित श्रम अभ्यास भएको निष्कर्ष निकाल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन आग्रह गरेको छ।
५ वर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परीक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएको जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले बताए।
उद्योग प्रशासनले भने कोही कर्मचारीहरूलाई पनि निष्काशन नगरेको दाबी गरेको छ। आन्दोलित कर्मचारीहरूलाई करार अवधि नवीकरण गर्ने प्रक्रियामा आई काम सुरु गर्न आग्रह गरेको प्रशासनले बताएको छ।
करार अवधि सकिएकोले एक वर्षको लागि करार सम्झौता गर्नुपर्नेमा निकालिएको भन्दै आन्दोलन चर्काएका उद्योगका व्यवस्थापक विवश अर्यालले बताए।
श्रमिकहरूको आन्दोलनमा समग्र उद्योग ट्रेड युनियन नेपाल जिल्ला समन्वय कमिटी मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, क्यूपेक नेपाललगायतले पनि ऐक्यबद्धता जनाएका छन्।
उद्योगमा हाल ४ सय ५० कर्मचारी कार्यरत छन्। उद्योग प्रशासनका अनुसार ७६ जना श्रमिकहरूले नवीकरण सम्झौता गरेर काम गर्दै आए पनि बाँकी ११ जना भने काममै आएका छैनन्। उनीहरू काममा फर्किए करार नवीकरण गरिदिने उद्योग व्यवस्थापक अर्यालले बताए।
श्रमिकहरूले ९७ जनालाई कामबाट निकालेको आरोप लगाए पनि हाल ११ जनाले मात्रै काम नगरेको उद्योग प्रशासनको दाबी छ।
Shares

प्रतिक्रिया