समाज


संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन प्रतिवेदन- ९१० बिघा अतिक्रमित, २०० बिघा नदीले खायो

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन प्रतिवेदन- ९१० बिघा अतिक्रमित, २०० बिघा नदीले खायो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १८:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएका हुन्।

मन्त्रिपरिषद्को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्वन्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो। 

पौडेलले दाङमा रहेको विश्वविद्यालयको कूल १ हजार ६६२ बिघा जग्गा रहेको जानकारी दिए। उनले देउखुरी क्षेत्रमा १ हजार ३३६ बिघामध्ये ९१० बिघा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताए। सोही क्षेत्रमा विश्वविद्यालयको २०० बिघा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ।

जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुने संयोजक पौडेलको भनाइ छ।

प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिए।

प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad