समाज


विकट बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

विकट बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

नेपालखबर
फागुन ६, २०८१ मंगलबार ९:२६, दैलेख

भौगोलिक रूपमा दैलेख जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका- ५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ।

गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो।

गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए। ‘हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ’, अध्यक्ष शाहीले भने, ‘यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन मुस्किल छ। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालेका छौँ।’

गाउँपालिकामा वडास्तरीय चारवटा स्वास्थ्य चौकी र एक महावु गाउँपालिकाको ठूलो अस्पताल भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए। 

‘गाउँपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ’, अध्यक्ष शाहीले भने, ‘भौगोलिक रूपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिँड्नुपर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ।’

आफू दोस्रोपटक निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेका स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको शाहीले बताए । ‘योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी महावुलाई कृषिको हब बनाउने योजनामा लागेको छु,’ उनले भने।

महावु गाउँपालिकाले वडा नं ५ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्याउन भूमिका खेलिरहेको वडाध्यक्ष दीपबहादुर शाहीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ । ‘वडा नं ५ मा हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ । राज्यले दिएको सेवा सुविधा जनस्तरमा पुर्याउन लागिपरेका छौँ,’ उनले भने।

आपत्कालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नं ५ गोर्तिका स्थानीयवासी ठिमबहादुर बरालले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि दैलेख सदरमुकाम जानुपर्ने बाध्यता छ । ‘स्वास्थ्य एकाइ स्थापनाले सहज सेवा भएको छ’, उनले भने,  ‘हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ।’

यहाँबाट गाउँपालिका गैङडावाज अस्पताल पुग्न पाँचदेखि छ घण्टासम्म लाग्छ । वर्षा सुरु भएपछि यातयात सेवा ठप्प हुन्छ। अब भने सामान्य स्वास्थ्योपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad