ad ad

समाज


भारतबाट फर्किएका सयौं नेपाली दशगजामा अलपत्र

भारतबाट फर्किएका सयौं नेपाली दशगजामा अलपत्र

गोकुल जोशी
चैत १०, २०७६ सोमबार १२:२,

सरकारले भारत र चीनसँग सीमा जोडिएका नाका बन्द गरेपछि पश्चिमी सिमानाका हुँदै नेपाल भित्रिन खोजेका चार सय बढी नेपाली गड्डाचौकीस्थित दशजगा क्षेत्रमा अलपत्र परेका छन्। अधुरो सूचना सुनेर नेपाल फर्कंदै गरेका उनीहरु गड्डाचौकी नाका बन्द भए पछि नाकामै अलपत्र परेका हुन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार बिहानदेखि गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको थियो। सोही सूचना सुनेर घर फर्केका उनीहरु नेपाल प्रवेश गर्नुअघि नै सरकारले नेपाल–भारत सिमानाका सोमबारदेखि एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिसकेको थियो।

gadda-alapatra2.jpg

कामको शिलशिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि स्वदेश फर्किन थालेका छन्। तर, सोमबार गड्डाचौकी आइपुगेका उनीहरु नाका बन्द भएपछि गड्डाचौकीमै अलपत्र परे। भारतबाट फर्किएकाहरु गड्डाचौकी नाका भन्दा केही पर दशगजा क्षेत्रमा बसेका छन्।

सरकार र प्रशासनको फरक–फरक सूचनाले अलमलमा परेर अहिले अलपत्र पर्नु पर्ने अवस्था आएको भारतको दिल्लीबाट फर्किएका हरिओम कोलीले बताए।

‘चैत्र ११ गतेदेखि सीमा बन्द हुने सुनेको थिएँ, हिजो साँझ हामी २०/२५ जनाको समुहमा हिँड्यौ, साँझको निर्णयबारे जानकारी लिन पाएनौँ, त्यति बेला हामी हिँडि सकेका थियौँ’ उनले भने, ‘अहिले गड्डाचौकीमा अलपत्र परियो।’

भारतमा कोरोना भाइरसका कारण काम गर्ने कम्पनी बन्द भए पछि स्वदेश फर्किएको अर्का मजदुर बिष्णु जोशीले बताए।

‘बिहानैदेखि गड्डाचौकीमा बस्नु परेको छ, सीमा बन्दबारे जानकारी थिएन’ उनले आग्रह गरे, ‘हामीलाई गन्तव्यसम्म पुर्‍याइ दिनुपर्‍यो।’

gadda-alapatra5.jpg

गड्डाचौकी नाकामा पुगेका नेपाली नागरिकहरुलाई उनीहरुको गन्तव्यसम्म कसरी पुर्‍याउने भन्ने बिषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। जसरी भए पनि नेपाली नागरिकलाई उनीहरुको गन्तव्यसम्म पुर्‍याइने उनको भनाई छ। 

गड्डाचौकीमा जस्तै सयौं नेपाली धनगढीस्थित त्रिनगर भन्सार क्षेत्रमा पनि अलपत्र परेका छन्। उनीहरु पनि भारतका विभिन्न शहरबाट गौरिफन्टा नाका हुँदै घर फर्केका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .