नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मान्छेमा मनैदेखिको लगाव आवश्यक हुने बताएका छन्।
कागेश्वरी मनोहरा–८ का उत्तम पुडासैनी नेतृत्वमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा पूर्वमहामन्त्री कोइरालाले त्यस्तो प्रशंसनीय काम सबैबाट हुन नसक्ने बताए।
डा. शशांकले संस्थालाई व्यवस्थित बनाउँदै अझ धेरै आकर्षण बढाउन सुझाव दिएका थिए। आर्थिक रूपमा बलियो हुन जग्गाको उपयोग गर्दै थप आकर्षक बनाउन, प्रवेश शुल्कको व्यवस्था गर्न र सदस्यता वितरणमार्फतको शुल्कबाट थप मजबुत हुन सुझाव दिएका थिए।
राष्ट्रिय जनावरको संरक्षणजस्तो पवित्र कामलाई दीर्घकालीन र व्यवस्थित गर्न आफूबाट हुने सबैखाले सहयोगका लागि तयार रहेको उनको भनाइ थियो। कार्यक्रममा पूर्वमन्त्री दीपक गिरीले राष्ट्रिय जनावरको संरक्षणजस्तो प्रशंसनीय कार्य गरेको भन्दै संस्थालाई सबैबाट सहयोग हुने बताए। उनले पशुपति क्षेत्र विकास कोषलाई यसको स्वामित्व लिनका लागि आफूले आग्रह गर्ने बताए।
कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्कीले राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको भन्दै यो कामको स्वमित्व केन्द्र सरकारले लिनुपर्ने बताए। उनले केन्द्र सरकारले नसक्ने हो भने सर्तसहित स्थानीय सरकारलाई जिम्मा दिन पनि आग्रह गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले मानवले पूरा गर्नुपर्ने जिम्मेवारीका लागि उत्तम पुडासैनीलाई धन्यवाद दिँदै सक्दो सहयोगको आश्वासन दिइन्।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, वागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारी सहभागी थिए।
एकसय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा हाल २७१ गाई तथा बाछा रहेको सञ्चालक पुडासैनीले जानकारी दिए। विगत सात वर्षदेखि बेवारिसे गाई उद्धार गरी संरक्षण दिँदै आएका पुडासैनीले बेवारिसे गाई देखेमा तत्काल खबर गर्न र उनीहरूको ज्यान बचाउने पवित्र काममा सहयोग गर्न आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया