समाज


सेनाले माग्यो कोराेना परीक्षण गर्ने ९ वटा ल्याबका लागि उपकरण

सेनाले माग्यो कोराेना परीक्षण गर्ने ९ वटा ल्याबका लागि उपकरण

नेपालखबर
चैत १०, २०७६ सोमबार ८:२८,

कोरोना भाइरसका बिरामीको परीक्षणका लागि नेपाली सेनाले ९ वटा ल्याबसहितका उपकरण माग गरेको छ। सेनाले सातवटै प्रदेशमा एक/एक वटा र काठमाडौंमा दुईवटा ल्याब स्थापना गर्नका लागि आवश्यक सामग्री माग गरेको हो।

स्रोतका अनुसार सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाएपछि नेपालले चीनबाट ल्याउने भनिएको सहायतामा त्यसलाई समेत समावेश गरिएको छ। सेनासँग विभिन्न तहका २ हजार ४ सय स्वास्थ्यकर्मी छन्। सेनाले हरेक युनिटबाट कोरोना संक्रमणमा काम गर्ने गरी तयारी गरिरहेको छ।

संक्रमणअनुसारको कार्ययोजना बनाएको सेनाले नेपालमा जोखिम बढेको भन्दै हरेक प्रदेशमा कोरोना परीक्षण गर्न मिल्ने गरी ल्याब बनाउने प्रस्ताव गरेको हो। सेनाको प्रस्ताव सरकारले अगाडि बढाइसकेको बताइएको छ।

सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ। स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री पनि सेनाले आफ्नो प्रस्तावमा माग गरेको छ।

वीरेन्द्र अस्पतालको पुरानो एचआईभी सेन्टरमा १० बेडको आइसोलेसन वार्ड तयार पारेको सेनाले पोखरा, नेपालगन्ज र इटहरीमा पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ। फिल्ड एम्बुलेन्समा समेत गरेर सेनासँग ५२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा छ।

तर जोखिमअनुसार वार्ड थप गर्दै लैजाने पनि सेनाको तयारी छ। वीरेन्द्र अस्पतालको बाहिरपट्टि रहेको सैनिक कल्याणकारी कोषको एक तले भवन, विभिन्न तालिम केन्द्र, सैनिक महाविद्यालय र मेडिकल कलेजहरु छनौट गरिएको छ।

आवश्यकताअनुसार खाली ठाउँमा मोवाइल फिल्ड अस्पताल राखेर पनि संक्रमितको उपचार गर्न सकिनेगरी सेनाको तयारी छ।

स्वयम्भूको बारुदखानास्थित ट्रान्जिट क्याम्पमा भएको भवनलाई क्वारेन्टाइन सेन्टरका रुपमा छुट्याउन पनि कार्यदलले सिफारिस गरेको छ।

यसैबीच नेपालमा कोरोना संक्रमित भेटिएको विषयमा समेत नजिकबाट नियालिरहेको सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले बताए।

‘अहिले नै हाम्रो संलग्नता छैन तर हामी नजिकबाट हेरिरहेका छौँ’, पाण्डेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad