अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पुनरागमनसँगै राष्ट्रपतिको सपथलगत्तै जारी गरेका आदेशले विश्वव्यापी तरंग सिर्जना गरिरहेको छ।
ट्रम्प प्रशासनको नीतिका कारण अमेरिकाले यसअघि लिएका कयौँ नीतिमा समेत प्रत्यक्ष प्रभाव परेको छ।
त्यसमध्यको एक हो, ट्रम्प प्रशासनले लिएको ‘एक झण्ड नीति। त्यसको असर पनि विश्वव्यापी रुपमा परेको छ।
अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना दूतावासहरूमा अमेरिकाको राष्ट्रिय झण्डाबाहेकका झण्डा, नारा र ब्यानर हटाउन निर्देशन दिएको छ।

त्यस्तो निर्देशनसँगै सबै दूतावासबाट अन्य झण्डा तथा ब्यानर हटाइएको छ। यसअघि अमेरिकी दूतावासमा अमेरिकी झण्डाबाहेक ‘लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यु प्लस) गौरव’ र ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने झण्डा पनि फराइन्थ्यो।
सँगै अमेरिकी खेमाका कुनै देशको विशेष घटनामा पक्षधरता देखाउन पनि त्यस देशको झण्डा फहराउने गरिन्थ्यो।
ट्रम्प प्रशासनले यी सबैमा धावा बोलेको छ। यसको असर काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि परेको छ।
स्रोतका अनुसार युक्रेनको सर्मथनमा राखिएको झण्डा र ब्यानर हटाइएको छ। ट्रम्पको आदेश आउनेबित्तिकै उक्त ब्यानर हटाइएको हो।

रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अमेरिका त्यसविरुद्ध उभिएको छ। अहिलेसम्म युक्रेनलाई सैन्य र आर्थिकरूपमा सघाइरहेको छ।
युक्रेनको सर्मथनमा महाराजगन्जस्थित दूतावासको भित्तामा पनि ‘हामी युक्रेनको साथमा छौँ’ भन्ने ठूलो ब्यानर राखिएको थियो। दूतावासको उक्त अभियानमा केही नेपाली सर्मथन जनाउन पनि पुगेका थिए।
त्यस्तै अमेरिका नेतृत्वको खेमाका काठमाडौँमा रहेका विदेशी कूटनीतिक मिसनहरूले पनि रुसको विरोधमा अमेरिकालाई साथ दिएका थिए। स्विटजरल्यान्ड, फिनल्यान्ड, बेलायत, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, नर्वे, जर्मनी लगायतका देशका राजदूतले सहभागिता जनाएका थिए।
Shares

प्रतिक्रिया