ad ad

समाज


कोरोना सामना गर्न एनआरएनए रणनीति

कोरोना सामना गर्न एनआरएनए रणनीति

कुमार पन्त
चैत ९, २०७६ आइतबार ४:१७,

हामी नेपाली अवसरको खोजीमा विश्वका धेरै मुलुकमा छौं। कोरोना भाइरस फैलिँदा नेपाली रहेका देशहरुको अवस्था पनि भयावह बनेका छन्। यतिबेला विश्वका अरु भागजस्तै जर्मनी पनि कोरोना भाइरसबाट विकराल अवस्थामा छ। मेरो  बसोबास एवं व्यवसाय भएको सहर जर्मनीको फ्रेङ्कफर्ट हो। यहाँको स्थिति लगभग ‘लक डाउन’जस्तै छ। समूहमा बाहिर गएर किनमेल गर्न पाइँदैन। भिडभाड नगरी आवश्यक वस्तु किनमेल गर्न दिइएको छ। अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनिएको छ।

जर्मनी, इटाली, स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्ससहितका देशहरुमा काम र व्यवसाय गरेर बसेका नेपालीहरु छन्। कोरोनाका कारण व्यवसाय र काम गर्ने दुवै किसिमका नेपालीहरुको अवस्था अप्ठ्यारोमा छ। यो स्थितिलाई सामना गर्न ती देशहरुले नीति ल्याइरहेका छन्। छोटो समयका लागि कामदारहरुलाई तलब दिने नीति ल्याइएको छ। त्यस्ता नीतिबाट नेपाली कामदार कसरी लाभान्वित हुन सक्छन् भनेर हामीले काम गरेका छौं।

युरोपबाहेक अन्य देशहरुले पनि यस किसिमका नीतिहरु ल्याएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो विसम परिस्थितिमा सहयोग गर्न दुईवटा मोडालिटी बनाएर काम गरिरहेका छ। पहिलो, नेपालमा ल्याबसहितका स्वास्थ्य सामग्री अभाव रहेको समाचारहरु आइरहेका छन्। त्यस्ता सामग्री पठाउन हामीले विज्ञसँग परामर्श लिई सरकारसँग छलफल गरिरहेका छौं। दोस्रो, विश्वभरि छरिएर रहेका नेपाली कहाँ अप्ठ्यारोमा छन् उनीहरुलाई सहयोग गर्न ध्यान केन्द्रित गरिरहेका छौं।

अहिले कतिपय देशमा आइसोलेसन बस्न समेत नेपालीलाई गाह्रो भएको सूचना पाएका छौं। हामीले त्यस्ता नेपालीलाई बस्ने बासस्थान उपलब्ध गराउँदैछौं। कतिपय देशहरुले कामदारलाई राहत प्याकेज उपलब्ध गराउने भनेका छन्। त्यो कसरी लिने भनेर नेपालीलाई सहज पारिदिन हामीले काम गरिरहेका छौं। हालै एनआरएनएले कोरोना प्रभावित सबै देशका नेपालीहरुको तथ्यांक संकलन गर्ने तथा स्वास्थ्यसम्बन्धी काम व्यवस्थित पार्न हरेक राष्ट्रिय समितिबाट एक-एक जना संयोजक तोक्ने निर्णय गरेको छ। ‘लक डाउन’मा परेका कतिपय नेपालीको भिसा अवधि समाप्त भएको, श्रम स्वीकृति म्याद सकिएकोजस्ता अप्ठ्यारा पनि देखिएका छन्। यसलाई समाधान गर्न कुटनीतिक च्यानलबाट कुरा अघि बढाउन नेपाल सरकारका परराष्ट्र तथा गृह मन्त्रालयसँग छलफल गरिरहेका छौं।

केही दिन अगाडि हाम्रो टोलीले मेडिकल डाक्टर, अर्थशास्त्री एवं पूर्व स्वास्थ्यमन्त्रीहरु गगन थापा र गंगालाल तुलाधरसँग बैठक गरेका थियो। उहाँहरुको सल्लाह यो अवस्थामा स्वास्थ्य केन्द्रित हुनुपर्छ भन्ने रह्यो। त्यसका आर्थिक पक्ष छन्, कार्यान्वयनका लागि अन्य पक्षहरु छन्। ती सबै विषयको हामी तयारी गरिरहेका छौं। एउटा टोलीले नेपाल सरकारसँग छलफल गरिरहेको छ।

अहिले युरोपका देशहरुमध्ये इटाली, स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनीको अवस्था भयानक छ। यी देशमा प्रशस्त नेपाली छन्। जर्मनीसहितका युरोपका अरु देशहरुले नेपालीलाई क्वारेन्टाइन आइसोलेसनमा राख्ने र स्वास्थ्य उपचार गर्ने विषयमा आफ्नै देशका नागरिक सरह व्यवहार गरेका छन्। यसले नेपालीलाई राम्रो भएको छ। तर त्यो सुविधा पाउन निश्चित प्रक्रियाबाट गुज्रिनु पर्दछ। कोही कतै छुटेको वा अप्ठ्यारोमा परेको भए हामी ती नेपालीलाई सहयोग गर्न संयन्त्र परिचालन गरेका छौं।

नेपालीको व्यवसाय अप्ठ्यारोमा
धेरै पहिलादेखि हेर्ने हो भने नेपालीहरु मूलतः अवसर र कामको खोजीमा विदेशिएका हुन्। आफ्नो देश बाहिर रहेका कतिपय नेपालीहरु आफ्नै व्यापार–व्यवसायमा संलग्न छन्। तर कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै व्यापार व्यवसाय चौपट भएको छ। कोरोनाले अधिक असर पारेका जर्मनी, स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, इटालीसहितका देशमा नेपालीको लगानी छ, व्यवसाय छ। यहाँ जर्मनीमा अरुजस्तै हाम्रो लगानीका होटल पूरै खाली छन्। व्यवसाय चौपट हुँदा तीन पक्षलाई सम्हाल्न गाह्रो परिरहेछ। पहिलोः बैंक ऋण तिर्न, दोस्रोः व्यवसाय बन्द रहँदा दक्ष कर्मचारीलाई जोगाइ राख्न। योसँगै ठूलो लगानी अप्ठ्यारोमा परेको छ। म आफैँ पनि यी सबै अप्ठ्याराबाट गुज्रिरहेको छु। लगभग ‘लक डाउन’मा रहँदा  हात धुने, सेनिटाइजर प्रयोग गर्नेसहितका उपाय अपनाएर घरमै बसिरहँदा मेरो सम्पूर्ण ध्यान नेपाल र विश्वभरि छरिएर रहेका नेपालीको स्वास्थ्यमा केन्द्रित छ। यो विकराल अवस्था सामना गर्दै नेपालीलाई सहयोग गर्न एनआरएनएको सम्पूर्ण शक्ति परिचालित छ।

(कुमार पन्त गैरआवासीय नेपाली संघ (एनआरएनए)  अध्यक्ष हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .