समाज


लोक सेवाकै परीक्षामा यस्तो लापरबाही– नदिएको परीक्षामा पनि पास, सहसचिवमा निस्कियो नाम

लोक सेवाकै परीक्षामा यस्तो लापरबाही– नदिएको परीक्षामा पनि पास, सहसचिवमा निस्कियो नाम

नेपालखबर
माघ १५, २०८१ मंगलबार १९:३७, काठमाडौँ

नेपालमा सबैभन्दा विश्वसनीय र निष्पक्ष मानिने लोक सेवा आयोगको परीक्षामा नै गम्भीर लापरवाही भएको पाइएको छ। आयोगले हालै सञ्चालन गरेको सहसचिवको परीक्षामा सहभागी नै नभएकालाई उत्तीर्ण भनेर नाम प्रकाशित गरेको भेटिएको हो।

न्याय सेवाअन्तर्गत लिइएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी नै नभएका दुईजनाको नाम सहसचिवमा उत्तीर्ण भएको सूचना आयोगले प्रकाशित गरेपछि अहिले न्याय र प्रशासन क्षेत्रमा हल्लीखल्ली भएको छ। स्वयं परीक्षार्थी नै छक्क पर्ने गरी नाम निस्किएपछि आयोगले आन्तरिक छानबिन गरी परीक्षाफलसम्बन्धी सूचना संशोधन गर्नुपरेको छ।

कुरा गत मंसिर २८, २९ र पुस १ गते सञ्चालन भएको लिखित परीक्षाको हो। आयोगको केन्द्रीय कार्यालयले नै यो परीक्षा लिएको थियो। 

नेपाल न्याय सेवाअन्तर्गत तीनवटा समूह छन्, न्याय, कानुन र सरकारी वकिल। कानुन मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतले सहसचिवका लागि भएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा उनले भाग लिए। उनले कानुन समूहका लागि मात्र परीक्षा दिएका थिए। तर, माघ १ गते नतिजा आउँदा सरकारी वकिल र न्याय समूहमा पनि उनको नाम निस्कियो। अर्थात्, जाँचै नदिएको सरकारी वकिल र न्याय समूहको सहसचिव पदका लागि पनि मौखिक परीक्षा एवं प्रस्तुतीकरणमा आयोगले बोलायो। 

त्यस्तै अर्का परीक्षार्थी सपना अधिकारी गौतमले दुईवटा समूहका लागि परीक्षा दिएकी थिइन्। नाम भने तीनवटै समूहमा निस्कियो। न्याय र कानुन समूहमा मात्र जाँच दिएकी उनको नाम सरकारी वकिलको सहसचिवमा पनि नाम निस्किएपछि उनी छक्कै नपर्ने कुरै भएन।

माघ १ को सूचनामा मानबहादुर बस्नेतको नाम न्याय समूहको सहसचिवमा दोस्रो नम्बरमा नाम निस्किएको छ भने सरकारी वकिल समूहमा पाँचौँ नम्बरमा छ। यी दुवै परीक्षा उनले दिएकै होइनन्। 

उनले जाँच दिएको कानुन समूहमा तेस्रो नम्बरमा नाम निस्किएको छ। 

संशोधित सूचनामा भने उनको नाम कानुन समूहको तेस्रो नम्बरमा मात्र छ। अन्य समूहबाट उनको नाम हटाइएको छ। यो सूचना आयोगले माघ ११ गते प्रकाशित गरेको छ।

त्यस्तै सपना अधिकारी गौतमको नाम पहिला कानुन समूहमा सातौँ, सरकारी वकिल समूहमा नवौँ र न्याय समूहमा तेस्रो नम्बरमा तिस्किएको थियो। जबकि उनले सरकारी वकिल समूहमा परीक्षा नै दिएकी थिइनन्।

संशोधित सूचनामा भने कानुनमा सातौँ र न्यायमा तेस्रो नम्बरमा उनको नाम प्रकाशित छ। सरकारी वकिल समूहबाट हटाइएको छ। लिखितको नतिजा प्रकाशन गर्दा वर्णानुक्रममा राख्ने गरिन्छ।

सामेल नै नभएका परीक्षामा पनि उत्तीर्ण भनी प्रकाशित गरिएको लोक सेवाको सूचना

कहाँ भयो गल्ती?
जाँचै नदिएका समूहमा नाम निस्किएका परीक्षार्थीले नै नजिता नपत्याएपछि आयोगले आन्तरिक छानबिन गरेको थियो।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईँले नेपालखबरसँग भनिन्, ‘छानबिनबाट गल्ती भएको पत्ता लागेपछि हामीले सूचना संशोधन गरेर प्रकाशित गरिसकेका छौँ। हाजिरी उठाउँदा नै गल्ती भएको पाइएको छ। दोषीमाथि कारबाही हुन्छ।’

आयोगले कारबाहीका लागि लोक सेवाकै सचिवलाई जिम्मेवारी दिएको पनि उनले जानकारी दिइन्।

‘प्रायः न्याय सेवाअन्तर्गतका परीक्षार्थीले तीनवटै समूहमा फर्म भर्छन् भन्ने अनुमानका आधारमा सेवा मात्र लेखेर हाजिरी उठाइएको रहेछ,’ प्रवक्ता होमेगाईँले भनिन्, ‘छानबिन समिति गठन गरेर निर्णय गरेरै हामीले पुरानो सूचना रद्द गरिसकेका छौँ। र, संशोधित सूचना प्रकाशित गरेका छौँ। आयोगले सचिवज्यूलाई म्यान्डेट दिएको छ। अब दोषीमाथि कारबाहीको फाइल उठाउनुहुन्छ र प्रक्रिया अघि बढ्छ।’

तीनै समूहका संशोधित नतिजासम्बन्धी सूचना हेर्नहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad