नेपालमा कोरोना संक्रमित भेटिएको भनी गलत हल्ला फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रारामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगर रहेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार दिउँसो पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।
‘हामीले भक्तपुरको सिपाडोलबाट डेढ घण्टा अगाडि पक्राउ गरेका हौं, उनको टिममा अरु पनि रहे नरहेको बारे अनुसन्धान गर्दैछौं,’ प्रवक्ता थापाले नेपालखबरसँग भने।
उनले पक्राउ परेका युवाले दर्ता नभएको एक अनलाइन समेत चलाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाए। ‘त्यसबारे पनि अनुसन्धान गरिरहेका छौं। कारबाही प्रक्रिया अघि बढिसक्यो,’ उनले भने।
ती युवाले काेराेनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए। प्रहरीले अनावश्यक हल्लाकाे पछाडि नलाग्न सर्वसाधारणा आग्रह समेत गरेकाे छ।
Shares
प्रतिक्रिया