ad ad

कारोबार


कामदार चीनमै रोकिँदा साञ्जेन जलविद्युत् आयोजनाको काम प्रभावित

कामदार चीनमै रोकिँदा साञ्जेन जलविद्युत् आयोजनाको काम प्रभावित

रमेश लम्साल
चैत ८, २०७६ शनिबार ९:३३,

कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ। नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन्। निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत् आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन्।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेका दुई आयोजनामध्ये एक आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो। तर, कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नसक्दा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न समस्या भएको छ।

कम्पनीले माथिल्लो र तल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ। त्यसमध्ये १८.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनको काम करिब सम्पन्न हुने चरणमा पुगेको थियो। भौतिक निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको सो आयोजनाको विद्युत् गृहमा उपकरण जडान गर्ने कार्यतालिका तय गरिएको थियो। तर गत डिसेम्बरको अन्तिमदेखि चीनमा फैलिएको कोरोनाका कारण चिनियाँ कामदार उतै रोकिँदा उपकरण जडानमा समस्या भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।

चीनमा कोरोनाको संक्रमण कम भएपछि चिनियाँ प्राविधिक आउने सूचना आए पनि सरकारले विदेशी नागरिकलाई तत्काल नेपाल आउन लगाएको प्रतिबन्धका कारण उनीहरु उतै रोकिएका छन्। कोरोनाको प्रभाव न्यून नहुँदासम्म आयोजनामा कुनै काम नहुने अवस्था देखिएको छ।

‘कोरोना भाइरसको असरले उपकरण जडानको काम प्रभावित भएको छ, चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाइ भएको हो’, उनले भए। रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेनबाट चालू आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ। कोरोनाका कारण थपर दुई महिना पर धकेलिने अवस्था आएको श्रेष्ठको भनाइ छ।

‘कोरोनाको असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना देखिएको छ, हेरौँ प्रभाव कस्तो पर्छ, सोही आधारमा थप निर्णय होला’, श्रेष्ठले भने। यस्तै आयोजना सकिएको भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न पनि समस्या रहेको थियो। निर्माणाधीन चिमिले–त्रिशूली थ्री बी हब प्रसारण लाइन र सवस्टेशनको कामसमेत पूरा भएको छैन। सो प्रसारण लाइन नबने पनि वैकल्पिक व्यवस्था गरेर नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो।

तल्लो साञ्जेनको सुरुङ ‘ब्रेक थ्रु’

चिलिमको हालकै प्रसारण लाइनमार्फत नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो। यस्तै कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेनको शुक्रबार मात्रै सुरुङ निर्माण कार्य सम्पन्न भएको छ। आयोजनाको कूल तीन हजार ६७३ मिटर लामो मुख्य सुरुङ शुक्रबार निर्माण सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए।

आज शनिबार सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि साञ्जेन खोलाको पानी व्यवस्थापन गरेर शुक्रबार नै सुरङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ। आयोजनाको प्रमुख र महत्वपूर्ण मानिएको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अब सुरुङको ढलान तथा मर्मतको काम अगाडि बढाइनेछ। सो कार्यका लागि कम्तीमा आठ महिना समय लाग्नेछ। हाल आयोजनाको भौतिक निर्माण झण्डै ७८ प्रतिशतको हाराहारीमा पुगेको छ।

यस्तै आयोजनाको बाँध क्षेत्रको भौतिक निर्माण यसअघि नै सम्पन्न भएको छ। हाल विद्युत् गृह निर्माण तथा टेलरेस सुरुङमा पाइप जडानलगायतका काम भने जारी छ। कोरोनाका कारण ठेकेदार कम्पनीका प्राविधिक, कर्मचारी र केही उपकरण चीनमा नै रहेका कारण आयोजनाको काम प्रभावित भएको छ।

तल्लो साञ्जेनबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ। ती दुवै आयोजना सरकारले अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका आयोजना हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुरु गरेको सो कार्यक्रमले जलविद्युत्मा आन्तरिक लगानी प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .