ad ad

समाज


नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै भ्रामक हल्ला फैलाउनेविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

नेपालमा कोरोना संक्रमित भेटिएको भन्दै भ्रामक हल्ला फैलाउनेविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

नेपालखबर
चैत ८, २०७६ शनिबार ८:७,

नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्यूरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिए।

प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ। अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ। प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ। नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाइसकेको छ।

यसैबीच नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौँले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले आज एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ। त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारबाहीको माग गरेको छ।

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नर्भिकमा कोरोना संक्रमण भएका कुनै पनि बिरामीहरु नभएको बताएका छन्, उनले गलत हल्ला फैलाउने व्यक्तिको पहिचान गरी नेपाल प्रहरीको साइबर अपराध ब्युरोले कारबाही अगाडि बढाएको जानकारी दिए। उनले गलत हल्लाका कारण भ्रममा नपर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .